जनकपुरधाम– धनुषा जिल्लामा आँप फुल्ने महत्वपूर्ण चरण सुरु भएसँगै किसानलाई विषादी प्रयोग नगर्न आग्रह गरिएको छ ।
कृषि ज्ञान केन्द्र धनुषाले यस समयमा विषादी प्रयोग गर्दा परागण प्रक्रियामा असर पर्ने तथा उत्पादन र फलको गुणस्तरमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै किसानलाई सचेत रहन अनुरोध गरेको हो ।
कृषि ज्ञान केन्द्र धनुषाका सूचना अधिकारी गणेश अधिकारीका अनुसार अहिले आँपका बोटमा फुल्ने संवेदनशील समय चलिरहेको छ । यस्तो अवस्थामा विषादी प्रयोग गरिएमा परागणमा संलग्न किरा तथा मौरी प्रभावित हुने भएकाले उत्पादन घट्ने जोखिम रहने उनले बताए ।
उनका अनुसार यस वर्ष अनुकूल मौसम, समयमै गरिएको बगैंचा व्यवस्थापन तथा किसानको बढ्दो आकर्षणका कारण जिल्लामा आँप उत्पादन उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । धनुषामा हाल करिब ३ हजार ३ सय हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ ।
गत वर्ष जिल्लामा करिब १७ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष उत्पादन दोब्बर बढेर करिब ३४ हजार मेट्रिक टन पुग्ने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
धनुषामा उत्पादन हुने आँप काठमाडौं उपत्यका, पोखरा, नारायणघाट लगायतका हिमाली तथा पहाडी जिल्लामा बिक्रीका लागि पठाइने गरिएको छ । उत्पादन वृद्धि भएसँगै यस वर्ष बजारमा आँपको आपूर्ति सहज हुने र किसानको आम्दानी पनि बढ्ने विश्वास गरिएको छ ।
कृषि ज्ञान केन्द्र धनुषाले किसानलाई बगैंचा व्यवस्थापन, प्राविधिक परामर्श तथा रोग–कीरा नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।


