महोत्तरी- महोत्तरीको रामगोपालपुर नगरपालिका–६ स्थित विशम्भरपुरमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक कार्यालय सहायकले बिरामीको स्वास्थ्य जाँच नगरी औषधि वितरण गर्दै आएको तथ्य खुलेको छ।
उक्त स्वास्थ्य केन्द्रकी कार्यालय सहायक काजलकुमारी मण्डलले उपचारका लागि आउने बिरामीलाई जाँचबिना नै औषधि दिने गरेको पाइएको हो। एसईई उत्तीर्ण मण्डलले स्वास्थ्य संस्थामा आउने बिरामीले बताएअनुसार उपलब्ध औषधि दिने गरेको स्वीकार गरेकी छन्।

मण्डलका अनुसार स्वास्थ्य केन्द्रमा प्रायः एक्लैले ड्युटी सम्हाल्नुपर्ने अवस्था रहेको छ। उनले शिरीष न्युजसँग भनिन्,“यहाँ म प्रायः एक्लै ड्युटी गर्छु। दिनभरि आउने बिरामीलाई सेवा दिन्छु। कार्यालय प्रमुख सीअहेव सुरेश महतो प्रायः बाहिर बस्नुहुन्छ। यहाँ आउने बिरामीले आफ्नो समस्या बताएपछि सोही आधारमा स्वास्थ्य संस्थामा उपलब्ध औषधि दिएर पठाउने गर्छु।” उनले समस्या स्पष्ट नभएको अवस्थामा मात्र फोनमार्फत जानकारी गराउने गरेको बताइन्।
यो पनि पढ्नुहोस : – रामगोपालपुर : प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते
कार्यालय प्रमुख महतो उक्त संस्थाका एक मात्र स्थायी कर्मचारी हुन्। केही दिनअघिदेखि उनी सोही पालिकाको वडा नं. ६ को वडासचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्। दोहोरो जिम्मेवारी पाएपछि महतो कहिलेकाहीँ मात्र स्वास्थ्य संस्थामा समय दिने गरेको स्थानीयको आरोप छ।

रामगोपालपुर नगरपालिका–६ स्थित विशम्भरपुरका स्थानीय राम बिनय यादवले स्वास्थ्य केन्द्रको अवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, “स्वास्थ्य जाँच नगरी औषधि बाँड्नु अत्यन्त गैरजिम्मेवार र खतरनाक काम हो। यस्तो तरिकाले उपचार गर्नु भनेको बिरामीको स्वास्थ्यसँग खेलवाड गर्नु हो। जिम्मेवार कर्मचारी आफ्नो काम छाडेर अन्यत्र बस्दा सर्वसाधारणले कसरी भरोसा गर्ने ? यस्तो लापरबाही तत्काल रोक्न सम्बन्धित निकायले कडा कदम चाल्नुपर्छ।”

यस विषयमा रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले नगरपालिकाभर निजामती कर्मचारीको अभाव भएकाले महतोलाई वडा नं. ६ को वडासचिवको रूपमा थप जिम्मेवारी दिइएको बताए। उनले भने, “उहाँलाई जिम्मेवारी दिँदा स्वास्थ्य संस्थामा अधिकांश समय बिताउनुपर्ने कुरा पत्रमै उल्लेख गरिएको थियो। तर त्यसको पालना नभएकाले समस्या देखिएको हो।”
स्थानीयका अनुसार उक्त स्वास्थ्य संस्था नियमित सरसफाइको अभाव र फोहोरका कारण अस्तव्यस्त बन्दै गएको छ।


