सिरहा- सिरहाको औरही गाउँपालिका–५ औरही गाउँको दक्षिणतर्फ नेपाल–भारत सीमा नजिकै रहेको एक पोखरीमा बुधबार मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृतक महिला औरही–५ निवासी सरोजकुमार यादवकी श्रीमती करिब २२ वर्षीया खुश्वु यादव रहेकी छन्। उनको शव सासू चन्द्रकला यादवले सनाखत गरेकी प्रहरीले जनाएको छ। सरोजकुमार यादव हाल वैदेशिक रोजगारीमा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको शव पोष्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पतालबाट धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रारम्भिक अनुसन्धानमा मृतक महिला मंगलबार दिउँसो घाँस काट्न जाने भन्दै बोरा र कचिया लिएर घरबाट निस्किएको खुलेको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।
स्थानीयका अनुसार रातो समिज–सुरुवाल लगाएकी तथा गलामा मंगलसूत्र लगाएकी महिलाको नाकबाट हल्का रगत बगेको देखिएकाले अन्यत्र हत्या गरी पोखरीमा ल्याएर फालिएको हुन सक्ने आशंका गरिएको छ। तर प्रहरीले अनुसन्धान पूरा नभएसम्म यस विषयमा केही भन्न नसकिने जनाएको छ।
औरही गाउँपालिकाका पूर्वअध्यक्ष सिद्धार्थ यादवको कुखुरा फर्म परिसरभित्र रहेको पोखरीमा घोप्टो परेर तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको थियो। घटनास्थल पूर्व–पश्चिम हुलाकी सडकबाट करिब पाँच सय मिटर दक्षिण नेपाल–भारत सीमा नजिक पर्दछ।
घटनास्थलको पोखरीको उत्तरपट्टि डिलमा बोरा, कचिया र चप्पलसमेत फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेपछि प्रहरी चौकी औरही तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव प्रादेशिक अस्पताल पठाएको थियो।
श्रीमान् विदेशमा रहेकाले मृतक महिला प्रायः माइतीमै बस्दै आएकी थिइन्। माइती पक्षका अनुसार करिब १५ दिनअघि मात्र ससुरा दुःखी यादव लिन गएपछि उनी घर फर्किएकी थिइन्।


