मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरेको छ । सरकारको आदेशपछि पनि ग्यास आपूर्ति रोकिएपछि यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने भएको छ ।
एलपी ग्यासको हाहाकार भएको कृत्रिम अभाव सृजना गरी केही ग्यास व्यवसायीलाई कालोबजारी थालेका छन् । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यको दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको पीडितहरुले बताउँदै गर्दा सरकारले देशैभरि आधी तौलको सिलिण्डर बिक्रि वितरणका लागि काम अगाडि बढाएको छ ।
जनकपुरधामसहितका देशैभरि खाना पकाउने एलपी ग्यास कालोबजारी भइरहँदा स्थानीय प्रशासनले कडाइ गरिरहेको दाबी गर्दै आएको थियो । तर सरकारले शुक्रबारदेखि बजारमा आधी तौलको सिलिण्डर ल्याउने तयारी गरेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बिहीबार बसेको बोर्ड बैठकबाट बजारमा आधी तौल (७.१ किलो) को ग्यास सिलिण्डर ल्याउने विषयमा औपचारिक रूपमा निर्णय गरेपछि शुक्रबारदेखि बजारमा आधी तौलको सिलिण्डर मात्रै बिक्री हुने भएको छ ।
नेपाल आयल निगमका एक अधिकारीले जनाए अनुसार बुधबार अपराह्न बसेको बोर्डको बैठकले बजारमा आधी तौलको सिलिण्डर पठाउने निर्णय गरेको छ । उक्त निर्णयअनुसार आवश्यक जानकारी अहिले ग्यास उद्योगलाई पठाउन लागिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाको अध्यक्षतामा बुधबार र बिहीबार बसेको बैठकबाट बजारको समस्यालाई समाधान गर्न आधी तौलको सिलिण्डरमा जाने विषयलाई टुंगो लगाइएको थियो ।
सोहीअनुसार निगमको सञ्चालन समितिले आधी तौलको सिलिण्डरमा जाने निर्णय गरेको छ । उक्त निर्णय शुक्रबारदेखि लागु हुँदैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले जनाए अनुसार हल्लाको भरमा उपभोक्ताले आवश्यकताभन्दा बढी परिमाणमा ग्यास सिलिण्डर भण्डारण (जम्माखोरी) गर्न थालेपछि बजारमा अहिले ग्यास लिन ठूलो लाइन नै लाग्न थालेको जिकिर गरेका छन् ।
निगमका अनुसार छिमेकी राष्ट्र भारतमा समेत ग्यास वितरणमा समस्या आएको समाचार सार्वजनिक भएपछि नेपाली उपभोक्ताहरूमा आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर सञ्चय गर्ने प्रवृत्ति बढेको छ । भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पर्याप्त परिमाणमा हालसम्म ग्यास उपलब्ध गराए पनि उपभोक्ताले बढी संख्यामा ग्यास भण्डारण गर्न थालेपछि त्यसको प्रभाव बजारमा परेको मन्त्रालयका ती अधिकारीले बताए । अहिले पूर्ण तौल (१४.२ किलो) को सिलिण्डरको मूल्य १९१० रुपैयाँ पर्छ । आधी तौलको सिलिण्डरको मूल्य ९५५ रुपैयाँ पर्ने जनाइएको छ ।
आधी तौलको सिलिण्डरको बाजारीकरण यो पहिलो पटक नभइ यसअघि पनि नाकाबन्दीको बेलामा सरकारले आधी तौलको सिलिण्डरको बाजारीकरण गराएको थियो । निगमले जनाए अनुसार फागुन २६ सम्ममा भारतबाट साढे ४५ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ । गत फेब्रुअरी (माघ १ देखि फागुन २८ सम्म) महिनामा नेपालमा ५० हजार ३ सय मेट्रिक टन खपत भएको आधारमा उक्त मार्च महिना (फागुन १ देखि चैत १७ सम्म) लाई ५२ हजार मेट्रिक टनको कोटा तोकेर उक्त परिमाणमा ग्यास उपलब्ध गराइदिन इण्डियन आयल कर्पोरेशनलाई जानकारी गराइएको निगमले जनाएको छ ।
निगमले आम उपभोक्तालाई बजारमा ग्यासको अभाव हुन नदिने र सबैको भान्सामा इन्धन पु¥याउने उद्देश्यले उक्त नीति ल्याइएको बताएको छ । अहिलेको असहज परिस्थितिलाई हेरेर थोरै परिमाणमा धेरै उपभोक्तालाई ग्यास उपलब्ध गराउनु नै अहिलेको प्राथमिकता रहेको निगमको बताएको छ । ग्यास व्यवसायीहरुले एलपी ग्यासको कालोबजारी गरिरहेको भन्दै सेवाग्राहीले गुनासो गर्न थालपेछि कालोबजारी कानुन विपरीत काम भएकाले कोही दोषी पाइए कारबाही गर्ने स्थानीय प्रशासनले जनाउँदै आएको थियो ।
ग्यास विक्रेता महासंघ नेपालले संकटका बेला उपभोक्ता ठग्ने विक्रेता र ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसंग माग गरेको थियो ।


