काठमाडौं – प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ।
प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सार्दै चुनाव लडेको रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत हासिल गरेको छ।



रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार पार्टीले चुनावअघि नै बालेन शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेकोले स्वाभाविक रूपमा संसदीय दलको नेता पनि उनलाई नै बनाउने तयारी गरिएको हो।
“हामीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएका थियौं। एक हिसाबले भन्दा हाम्रो संसदीय दलको नेता पनि उहाँ नै हुनुहुन्छ। उहाँलाई दलको नेता बनाउन विधानमा के–कस्ता प्रावधान हेरफेर गर्नुपर्छ भन्नेबारे हामी छलफल गरेर आवश्यक संशोधन गर्छौं,” रावलले सेतोपाटीसँग भनिन्।
रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता छनोटसम्बन्धी व्यवस्था गरिएको छ। धारा ६६ (८) (क) अनुसार संघीय निर्वाचनअघि पार्टीबाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने व्यवस्था छ।
त्यस्तै उपधारा (ख) मा दलको नेता चयनका लागि हुने निर्वाचनमा पार्टीका सबै साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान राखिएको छ। यही व्यवस्था संशोधन गर्ने विषयमा पार्टीभित्र छलफल हुने रावलले बताइन्।
“हामीले विगतमा पनि यस्तो अभ्यास गरेका थियौं। अहिले चुनावअघि नै प्रधानमन्त्री उम्मेदवार तोकिसकेको अवस्थामा सहजीकरणका लागि के गर्नुपर्छ भन्ने विषयमा छलफल हुन्छ,” उनले भनिन्।
हालको विधानअनुसार कुल खसेको सदर मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार संसदीय दलको नेता बन्ने व्यवस्था छ। यदि कुनै उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन गरिने र त्यसबाट विजयी उम्मेदवार संसदीय दलको नेता बन्ने प्रावधान रहेको छ।
यसैबीच रास्वपा समानुपातिकतर्फका उम्मेदवार छनोट गर्ने तयारीमा जुटेको छ। पार्टी सभापति रवि लामिछाने केही दिनदेखि अस्वस्थ भई घरमै स्वास्थ्य लाभ गरिरहेकाले बैठक बस्न ढिलाइ भएको सहप्रवक्ता रावलले जानकारी दिइन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ बहुमतका लागि दुई सिट अपुग हुने गरी १८२ सिट जितेको थियो। पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ।
समानुपातिक उम्मेदवार छनोटका विषयमा पार्टी सभापति रव




