धनुषा – धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारास्थित बर्दिवास–सिन्धुली सडकखण्डमा आइतबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार ढल्केबरबाट सिन्धुलीतर्फ जाँदै गरेको मधेश प्रदेश–२–०२–००८ प ८५८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश–२–०२–००३ प ४४७१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मिथिला नगरपालिका–६ ढल्केबर निवासी २७ वर्षीय इन्द्रदेव महतो गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा अर्को मोटरसाइकल चालक सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी ४० वर्षीय सन्तोष कार्की घाइते भएका छन् ।
उनको उपचार भइरहेको बताइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


