सर्लाही– सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेलीमाई पछाडि रहेको एक फन पार्कमा एक युवकलाई नांगो बनाएर अमानवीय ढंगले कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत फागुन २३ गते अपराह्न करिब ४ बजे भएको उक्त घटनामा चक्रघट्टा गाउँपालिका–९ निवासी १९ वर्षीय प्रमित कुमार यादवमाथि समूहले निर्घात कुटपिट गरेको आरोप छ । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विषय सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार फागुन २९ गते राजेन कुमार यादवले रोहित कुमार यादवसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका थिए ।
जाहेरी दर्ता भएकै दिन मुख्य आरोपितमध्येका रोहित कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सामाजिक सञ्जालमा फैलिएको भिडियोमा केही व्यक्तिहरूले प्रमितलाई नांगो बनाएर चिर्पट लगायतका वस्तुले कुटपिट गरिरहेको देखिन्छ । कुटपिटका क्रममा पीडितले ‘बाबु हो, बाबु’ भन्दै गुहार मागिरहेको सुनिन्छ भने वरपर रहेका अन्य व्यक्तिहरूले हस्तक्षेप नगरेको दृश्य पनि देखिन्छ ।
प्रहरीका अनुसार घटनाको कारणबारे विस्तृत रूपमा खुल्न बाँकी रहे पनि प्रारम्भिक अनुसन्धानमा सामान्य विवाद र गालीगलौजबाट झगडा सुरु भएको अनुमान गरिएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । साथै घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक विवरण क्रमशः सार्वजनिक गरिने सर्लाही प्रहरीले जानकारी दिएको छ ।


