जनकपुरधाम - जनकपुर–ढल्केवर हाइवे सडक खण्ड अन्तर्गत जनकपुरधामको पिराडी चौक स्थित रेल्वे ट्रेकको छेउमै निर्माण गरिएको एक शौचालयले सडक सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको छ। दैनिक हजारौँ सवारी साधन आवत-जावत गर्ने मुख्य हाइवे, त्यस सँगै हाल पूर्ण रूपमा सुचारु अवस्थामा रहेको रेल्वे लाइन, र बीचमै अव्यवस्थित रूपमा रहेको शौचालयका कारण कुनै पनि समय ठूला दुर्घटना घट्न सक्ने अवस्था देखिएको छ।

स्थानीयवासीका अनुसार उक्त स्थान जनकपुरधाम प्रवेश गर्ने अत्यन्त व्यस्त बिन्दु हो, जहाँ बस, ट्रक, टिपर, निजी सवारी, मोटर साइकल तथा पैदल यात्रीको निरन्तर चाप रहन्छ। रेल आवत-जावत भइरहने स्थानमै सडकको छेउमा शौचालय हुँदा सवारी चालकले अचानक ब्रेक लगाउनु पर्ने, लेन परिवर्तन गर्नु पर्ने तथा ट्राफिक जामको स्थिति सिर्जना हुने गरेको छ।
यस्तो संवेदनशील क्षेत्रमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको जिल्ला ट्राफिक कार्यालय धनुषाले समेत यस विषयलाई गम्भीर रूपमा लिनु पर्ने स्थानीयको माग छ। ट्राफिक संकेत, चेतावनी बोर्ड, अस्थायी अवरोध हटाउने काम तथा जोखिम न्यूनीकरणका लागि तत्काल पहल आवश्यक देखिएको छ।

त्यसैगरी शौचालय वरिपरि फोहोर थुप्रिनु, सुँगुर तथा अन्य चौपाया खुला रूपमा बस्नुले हाइवे सडक र रेल्वे ट्रेक दुवै झनै जोखिमपूर्ण बनेका छन्। विशेष गरी रातको समय, कुहिरो लाग्दा तथा अत्यधिक ट्राफिक हुँदा मानवीय क्षति हुने सम्भावना उच्च रहेको छ।

स्थानीयले जनकपुरधाम उप–महानगरपालिका, सडक विभाग, जिल्ला ट्राफिक कार्यालय धनुषा तथा सम्बन्धित रेल्वे निकाय बीच समन्वय गरी तत्काल अनुगमन, शौचालयको स्थानान्तरण वा सुरक्षित व्यवस्थापन गर्न माग गरेका छन्। समयमै पहल नगरे सडक र रेल दुवै क्षेत्रमा ठूला दुर्घटना हुन सक्ने भन्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ।





