राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा सुरु भएको छ ।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गरिएको हो ।
दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने बताइएको छ ।
आयोजित कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरु सहभागी छन् ।
फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट थप ५७ सांसद पाएको छ ।
पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टीका नेता र विषय विज्ञहरुको प्रस्तुति हुनेछ ।
उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारीबोध गर्नेगरी लाग्न आग्रह गरेका छन् । उनले संसद्मा ध्यान दिनुपर्ने विषयमा पुन: अध्ययन गर्न आग्रह गरे ।
‘तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । अब फेरि ब्याक टू कलेज भनेजस्तै हो । यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ,’ वाग्लेले भने, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ। वाचापत्र दोहोर्याएर तेहेर्याएर पढ्नुहोला ।’
उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको बताउँदै प्रणाली नै बदल्ने विषयमा गम्भीर रहन आग्रह गरे ।
‘थिति बसाल्ने संकल्प, अब सिस्टम बसालौं, लथालिंग भएको अर्थ राजनीतिलाई अब सम्हाल्नुपर्नेछ । अब नेपाली जनताले गर्नसक्ने गरी म्यान्डेट दिएर पठाउनुभएको छ,’ उनले भने, ‘खाली ठूलो पार्टी मात्रै भएर बहुमत नआएको भए यति ठूलो भारी हुँदैन थियो । यसमा सजक हुनुहोला ।’


