
जनकपुरधाम - धनुषाको मिथिला नगरपालिका–२, बेलाचापीस्थित सतलोक आश्रममा सन्त रामपालजी महाराजको सान्निध्यमा आदरणीय सन्त गरीबदासजी महाराजको २९९औं बोध दिवस भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा नौ नव जोडीले दाइजोमुक्त विवाह सम्पन्न गरी समाज सुधारको उदाहरण प्रस्तुत गरेका छन्।
सन्त रामपालजी महाराजका अनुयायीहरूले फाल्गुन २५, २६ र २७ गतेसम्म अखण्ड पाठ, विशाल भण्डारा, दाइजो तथा आडम्बरमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्रदीक्षा लगायतका कार्यक्रमको आयोजना गरेका थिए। सन्त रामपालजी महाराजको पुस्तकमा उल्लेख भए अनुसार सन्त गरीबदासजी महाराजलाई सन् १७२७ मा १० वर्षको उमेरमा बिहान करिब १० बजे परम अक्षर ब्रह्म कबीर साहेबले जीवित महात्माको रूपमा भेटी ज्ञान उपदेश दिएका थिए। यही दिनलाई बोध दिवसका रूपमा मनाउने परम्परा रहँदै आएको छ। यस अवसरमा धनुषास्थित सतलोक आश्रमसहित भारतका ११ सतलोक आश्रमहरूमा तीन दिवसीय विशाल महाभण्डाराको आयोजना गरिएको थियो।
सन्त रामपालजी महाराजको सान्निध्यमा सम्पन्न दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) पछिल्लो समय निकै चर्चामा रहेको छ। आयोजकका अनुसार यस्तो विवाहमा कुनै पनि सरसामान वा नगद लेनदेन हुँदैन, साथै बेहुला–बेहुली दुबै पक्षलाई कुनै आर्थिक खर्च पनि लाग्दैन। विवाहमा सहभागी सम्पूर्ण आगन्तुकहरूको खानपान तथा बसोबासको सम्पूर्ण व्यवस्था आश्रमले गरेको थियो।
सिर्फ १७ मिनेटको गुरुवाणी मार्फत ३३ करोड देवी–देवताहरूको स्तुति गर्दै उनीहरूलाई साक्षी राखी लाखौं श्रद्धालुहरूको उपस्थितिमा विवाह सम्पन्न गरियो। विवाहमा मांसाहार तथा नशालु पदार्थ सेवन पूर्ण रूपमा निषेध गरिएको थियो। आयोजकका अनुसार समाजबाट दाइजो प्रथालाई हटाउने उद्देश्यले सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यस्ता विवाहहरू गराइन्छन्। यस अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको आयोजकले बताएका छन्।
यस अवसरमा अनुयायीहरूले नेपाल रेडक्रस सोसाइटीलाई ६६ युनिट रक्तदान गरेका छन्।
विशाल भण्डारामा शुद्ध घ्यूबाट तयार गरिएको लड्डुसहित रोटी, पुरी, दाल, भात, तरकारी, सलाद, अचार लगायतका परिकारको व्यवस्था गरिएको थियो। जुनसुकै व्यक्ति यस कार्यक्रममा सहभागी भई निःशुल्क भोजन ग्रहण गर्न सक्ने व्यवस्था मिलाइएको थियो।
तेस्रो दिन मंगलबार भोग आरती तथा सत्संगको आयोजना गर्दै कार्यक्रमको औपचारिक समापन गरिएको आयोजकले जानकारी दिएका छन्।


