जनकपुरधाम- जानकी महिला जागरण समाज धनुषाले विगत दुई वर्षमा जिल्लाका पाँच स्थानीय तहका ३५० युवायुवतीलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाएको छ । तालिम लिने मध्येका १९६ जनाले रोजगारी प्राप्त गरेका छन् ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सवैला, कमला, सहिद, विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका युवायुवतीलाई व्यवसायमूलक तथा दक्षता अभिवृद्धिसम्बन्धी तालिम दिएर रोजगारमूलक तथा व्यवसायमुखी बनाएको जनाइएको छ ।
सो संस्थाले १६२ जना युवायुवतीलाई जनही रु ८३ हजार आर्थिक सहयोग गरी व्यवसाय गर्न प्रेरित गरेको संस्थाका अध्यक्ष मन्दाकिनी कर्णले जानकारी दिनुभयो । उक्त संस्थाद्वारा आज जनकपुरधाममा दक्ष युवा परियोजना जिल्लास्तरीय परियोजना समापन बैठक आयोजना गरेको थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सरकारको उद्देश्य तथा लक्ष्य पूरा गर्न गैरसरकारी संस्थाहरूले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
प्लान इन्टर नेशनल नेपालले सन् १९७८ बाट नेपालमा काम गर्दै आएकामा हाल साझेदार संस्थामार्फत मधेस प्रदेशको चार जिल्लासहित १३ जिल्लामा काममा गर्दै आएको जनाएको छ ।




