महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा चैती छठ नजिकिँदै गर्दा चहलपहल बढेको छ। यस वर्षको चैती छठ आउँदो आईतबारदेखि सुरु भई बुधबारसम्म सम्पन्न हुने भएको छ। चार दिनसम्म मनाइने यो पर्वको तयारीमा व्रतालु र सर्वसाधारणले बजारमा किनमेलमा व्यस्त देखिएका छन्।

बजारमा छठ पर्वका लागि आवश्यक पूजासामग्री किन्न सर्वसाधारणको भिड लागेको व्यापारीहरूले जानकारी दिएका छन्। केरा, नरिवल, उखु, अदुवा लगायतका फलफूल तथा प्रसादका सामग्रीसँगै माटोका दियो, चौमुखे दीप, पाला, भुर्काभुर्की, जातो, माटोका हात्ती र ढकना जस्ता सामग्रीको बिक्रीमा उल्लेख्य वृद्धि भएको छ।




त्यस्तै, बाँसबाट बनेका डालो, नाङ्लो, डोको, कोनिया र ढाकी (सूप) जस्ता सामग्री खरिद गर्न आएका सर्वसाधारणको पनि ठूलो भिड देखिएको छ।
गौशाला नगरपालिका–१० का माणिकलाल महतोले भन्नुभयो,चैती छठको अवसरमा बजारमा आवश्यक सामग्री किन्न आएका छौं। पर्व नजिकिँदा बजारमा चहलपहल धेरै छ र व्यापारीहरूले सामग्रीको पर्याप्त व्यवस्था गरेका छन्। यो पर्वले धार्मिक आस्था प्रकट गर्नुका साथै स्थानीय बजार र व्यापारीहरूको आर्थिक गतिविधि बढाउने अवसर पनि हो।

छठ पर्व सूर्य उपासना तथा शुद्धता र आस्थाको पर्वका रूपमा मनाइन्छ। व्रतालुहरूले नदी, पोखरी वा अन्य जलाशयको किनारमा गएर अस्ताउँदै र उदाउँदै सूर्यलाई अर्घ्य दिने परम्परा पालना गर्छन्। यस अवसरमा पारिवारिक सुख–समृद्धि, सन्तानको दीर्घायु र आरोग्यताको कामना गर्दै विधिपूर्वक पूजा गरिन्छ।

गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजा प्रसाद साहले छठ पर्वका कारण बजारमा व्यापार उल्लेख्य रूपमा बढेको बताउनुभयो। उहाँका अनुसार चैती छठले स्थानीय बजारमा आर्थिक गतिविधि सक्रिय बनाएको छ र व्यापारीहरूमा उत्साह थपिएको छ। आवश्यक सामग्रीको आपूर्ति पनि सहज बनाइएको छ।

यसैबीच, स्थानीय तह तथा समुदायले छठ घाटको सरसफाइ र सजावटमा विशेष ध्यान दिएका छन्। बजारमा देखिएको चहलपहलले पर्वको धार्मिक महत्त्वसँगै स्थानीय आर्थिक गतिविधि बढाएको संकेत गरेको छ।

वर्षमा दुईपटक छठ पर्व मनाउने परम्परा छ। कात्तिक महिनामा मनाइने मुख्य छठलाई ‘कार्तिकी छठ’ र चैत महिनामा मनाइने छठलाई ‘चैती छठ’ भनिन्छ। दुवै अवसरमा व्रतालुहरूले अस्ताउँदै र उदाउँदै सूर्यलाई अर्घ्य दिने धार्मिक परम्परा समान रूपमा पालना गर्छन्।

तस्बिर : धर्वेन्द्र कुमार यादव”यदुवन्शी”,शिरीष न्युज/औरही,महोत्तरी।




