महोत्तरी – प्रधानमन्त्री सुशीला कार्कीले महोत्तरीको गौशालास्थित गाईगौशालाको निरीक्षण गर्नुभएको छ। अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि पहिलो पटक महोत्तरी पुग्नुभएकी प्रधानमन्त्री कार्कीले गौशाला नगरपालिका–३, नवराजपुरस्थित निगौल गाईगौशालाको अवलोकन गर्नुभएको हो।

निगौल गाईगौशालामा रहेका गाईवस्तुको दयनीय अवस्थाबारे समय–समयमा उठ्दै आएका गुनासोका सन्दर्भमा निरीक्षणपछि उहाँले कुनै पनि जीवजन्तुको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो। उहाँले गाई संरक्षणलाई रोजगारी सिर्जनासँग जोड्न सकिने भएकाले यसलाई अवसरका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। “हिन्दु धर्ममा चरा, मुसालगायत सबै जीवजन्तुको पूजा गर्ने परम्परा छ।




त्यसमा पनि गाईलाई आमाजस्तै मानिन्छ, त्यसैले गाईमाथि कुनै प्रकारको शोषण हुनु हुँदैन,” उहाँले भन्नुभयो। गाईगौशालालाई उद्योगका रूपमा विकास गर्दै रोजगारी सिर्जना गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ का निर्वाचित सांसद प्रमोद महतोलाई यहाँका समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो।

































