औरही,महोत्तरी – लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेसका किसानहरु पुन: खेतीपातीको परम्परागत शैलीमा फर्किन बाध्य भएका छन्।

पछिल्लो पटक पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिपछि किसानहरू आधुनिक कृषि उपकरणबाट टाढिँदै परम्परागत प्रणालीतर्फ फर्किन बाध्य देखिएका छन्।महोत्तरीको औरही नगरपालिका–५ श्रीपुरमा अहिले चैतको चर्को घामबीच किसानहरू गोरु जोतेर खेत तयार पारिरहेका दृश्य फेरि सामान्य बन्न थालेका छन्।




औरही नगरपालिका–५ का किसान जगदीश यादवका अनुसार इन्धनको मूल्य अत्यधिक बढेपछि ट्र्याक्टर प्रयोग गर्नु निकै महँगो भएको छ। “ट्र्याक्टर ल्याउँदा खर्च धेरै हुन्छ, अनि समयमा पनि पाइँदैन,” उहाँ भन्नुहुन्छ, “आफ्नै गोरु हुँदा चाहेको बेला खेत जोत्न पाइन्छ, त्यसैले फेरि पुरानै तरिकातिर फर्किनुपरेको छ।”यादवको चार बिघा जमिनमध्ये दुई बिघामा उखु खेती हुन्छ भने बाँकी जमिन पनि क्रमशः गोरुको सहारामा जोतिँदै आएको छ। ६ सदस्यीय परिवारको जीविकोपार्जन कृषि पेशामै निर्भर छ।

वार्षिक करिब १० लाख रुपैयाँ आम्दानी हुने गरे पनि बढ्दो लागतका कारण बचत भने न्यून हुने गरेको उहाँ बताउनुहुन्छ। “आम्दानी जति हुन्छ, खर्च पनि उस्तै हुन्छ,” उहाँले गुनासो गर्नुभयो, “मलखाद महँगो छ, बीउ महँगो छ, अब इन्धन पनि महँगो भएपछि किसानलाई बाँच्नै गाह्रो भएको छ।”

यता गाउँका अन्य किसानहरू पनि विस्तारै गोरु प्रयोगतर्फ आकर्षित हुन थालेका छन्।

परम्परागत खेती प्रणाली श्रमसाध्य भए पनि खर्च कम हुने भएकाले अहिलेको परिस्थितिमा विकल्पका रूपमा देखिएको छ।










