महोत्तरी- नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएका बालेन्द्र शाहप्रति महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।



मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा बसेको विशेष कार्यपालिका बैठकले मेयर पदबाट सोझै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको कार्यकारी प्रमुख प्रधानमन्त्री पदमा पुग्नु स्थानीय तहका जनप्रतिनिधिहरूका लागि हर्ष र गौरवको विषय भएको जनाएको छ।

बैठकले महोत्तरी जिल्लाका बासिन्दा पहिलोपटक प्रधानमन्त्री बन्नु जिल्लाकै लागि ऐतिहासिक तथा गौरवपूर्ण उपलब्धि भएको उल्लेख गरेको छ।

यस अवसरमा नगरपालिकाले आज साँझ मातहतका सबै कार्यालयहरूमा दीपावली गर्ने तथा नवनियुक्त प्रधानमन्त्रीको सुस्वास्थ्य, दीर्घायु र सफल कार्यकालको कामना गर्दै प्रसिद्ध पौराणिक जलाशय लक्ष्मी सागरमा भगवान लक्ष्मी–नारायणको विशेष सन्ध्याकालीन आरती पूजन गर्ने निर्णय गरेको जनाएको छ।





