महोत्तरी – महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा स्थानीयवासीले आफ्नै गाउँका बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको खबरपछि उल्लास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री नियुक्तिको खबर सार्वजनिक भएसँगै गाउँमा मिठाइ वितरण, पटाका प्रज्वलन तथा दीपावली गरी खुसी मनाइएको स्थानीयवासीले जनाएका छन् । गाउँका बासिन्दाले उहाँको सफलताप्रति गर्व व्यक्त गर्दै आपसमा शुभकामना आदानप्रदान गरेका छन् ।



शाहलाई नजिकबाट चिन्ने स्थानीयका अनुसार उहाँ सानैदेखि सरल, इमान्दार र उदार स्वभावका व्यक्ति हुनुहुन्छ । हाल उहाँको पुर्ख्यौली घरमा नियमित बसोबास नभए पनि गाउँमा उत्साह कायमै रहेको छ ।
पञ्चायतकालमा कुलानन्द झाका कारण परिचित रहेको उक्त गाउँले महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यमा उज्वल झा निर्वाचित भएपछि खुसी व्यक्त गरेको थियो । सोही गाउँका शाह प्रधानमन्त्री बनेपछि थप उत्साह छाएको स्थानीयले बताएका छन् ।
३६ वर्षीय शाहले प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय मतान्तरसहित विजय हासिल गरी राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति बलियो बनाउनु भएको हो । उहाँ दुई तिहाइ बहुमतको समर्थनसहित सरकारको नेतृत्व सम्हाल्ने तयारीमा हुनुहुन्छ ।
प्रधानमन्त्री शाहको उदयसँगै मधेशसहित देशभर नयाँ आशा जागेको जनाइएको छ । उहाँको आगामी कार्यशैलीप्रति सर्वसाधारणको ध्यान केन्द्रित भएको छ ।




