काठमाडौँ – उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको पुष्टि गरेका छन् । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।
नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग रातभर निरन्तर छलफल गरेका थिए ।



प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो । मध्यराति कानुन मन्त्रालयका सचिवलाई नक्सालस्थित प्रहरी मुख्यालयमा बोलाइएको थियो । मध्यरातसम्म सहमति नजुटेपछि कानुनसचिव पाराश्वर ढुंगानालाई पनि प्रहरी मुख्यालय बोलाइएको थियो । उनले त्यहाँबाट निस्किएर लिखित आदेश तयार पारेपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गर्दै लेखकसहित सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको हो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक गरेको छैन । तर, प्रतिवेदनका अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेका छन् ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो । सोही आधारमा एमाले अध्यक्ष ओलीविरुद्ध समेत पक्राउ पुर्जी जारी भइसकेको जनाइएको छ ।
मुलुकी फौजदारी संहिताको दफा १८१ र दफा १८२ अनुसार लापरबाहीपूर्ण तथा हेलचेक्र्याइँका कारण ज्यान लिएको कसुरमा कारबाही सिफारिस गरिएको आयोगले उल्लेख गरेको छ ।




