सुजाता राई
बिराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा प्रकाशित कवि उमेश लुइटेलको कविता सङ्ग्रह ‘आगो खरानी जान्दैन’ शनिबार विराटनगरस्थित एलिट क्लबको सभा हलमा सार्वजनिक गरिएको छ।



कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्व तथा अग्रज साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि, सभापति तथा अन्य स्रष्टाहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।
महासचिव गोकुल अधिकारीले स्वागत मन्तव्य राखे भने डा. इन्दिरा मिश्रा र प्रा. भूषण ढुङ्गेलले कृतिमाथि समीक्षा प्रस्तुत गरे। यस्तै, प्रज्ञा खेम नेपाली, वरिष्ठ अध्यक्ष कृष्णप्रसाद दाहाल, सरला चापागाईं, स्वयं स्रष्टा उमेश लुइटेल तथा प्रा.डा. मेदिनीप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कृति भित्र ४१ वटा विविध विषयका कविताहरू समेटिएका छन्।
कार्यक्रममा लेखकका बुवा पुर्णप्रसाद लुइँटेल र जीवनसाथी रिचा लुइटेल समेत सहभागी भए। कार्यक्रमको सञ्चालन सचिव मिनकुमार नवोदितले सम्हाले।




