महोत्तरी – मधेश प्रदेश सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कडाइका साथ सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशले आगामी चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षालाई व्यवस्थित र अनुशासित बनाउन सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिएको जनाएको छ।



आइतबार आयोजित तयारीसम्बन्धी छलफल कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको लापरवाही नगर्न जिल्ला शिक्षा समन्वय समिति तथा सरोकारवाला निकायलाई निर्देशन दिइन्।

मन्त्री तिवारीले मधेश प्रदेशमा पछिल्लो समय बढ्दो रूपमा देखिएको चिट चोरी नियन्त्रण गर्न विशेष ध्यान दिन आग्रह गर्दै मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा शिक्षा सम्बन्धी निकायहरूलाई समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिइन्। उनले सबै निकायले कडाइका साथ अघि बढ्न जरुरी रहेको बताइन्।
उनले यस वर्ष परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिने बताइन्। विशेषगरी, परीक्षामा चिट चोरीका लागि प्रयोग हुने मोबाइल फोन, स्मार्ट वाचलगायतका विद्युतीय उपकरणमाथि कडाइ गरिने उल्लेख गर्दै त्यस्ता सामग्री फेला परेमा सम्बन्धित सबैको उपस्थितिमा तत्काल नष्ट गरिने जनाइन्।
मन्त्री तिवारीले शिक्षा क्षेत्रमा प्रदेश सरकारले ठूलो लगानी गरे पनि अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उल्लेख गर्दै विद्यार्थी र अभिभावकमा रहेको ‘परीक्षामा चोरी हुन्छ’ भन्ने मानसिकता अन्त्य गर्न कडाइ आवश्यक रहेको बताइन्।
त्यस्तै, उनले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र अन्य पक्षबीच हुने भनिएको मिलेमतो नियन्त्रण गर्न पनि विशेष पहल गर्नुपर्ने बताइन्।
परीक्षा अवधिमा केन्द्राध्यक्ष बाहेक अन्य कसैले पनि परीक्षा हलभित्र कुनै पनि प्रकारका विद्युतीय उपकरण प्रयोग गर्न नपाउने व्यवस्था गरिने उनले स्पष्ट पारिन्।
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि देशैभरि सुरु हुने छ भने मधेश प्रदेशका आठै जिल्लामा समेत सोही मितिबाट परीक्षा सञ्चालन हुने जनाइएको छ।




