धनुषा – धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् भने होटल सञ्चालक फरार भएका छन्।प्रहरीका अनुसार ढल्केबरमा रहेको जुन तारा स्टाप लाइन होटलमा मंगलबार बिहान करिब ११ः३० बजे पोखरा महानगरपालिका–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएकी हुन्।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार मृतकको मुखबाट फिज निस्किएको अवस्थामा शव फेला परेको हो। उहाँले शरीरका अन्य भागमा कुनै चोटपटक नदेखिएको जानकारी दिनुभयो।घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कामदार फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र बनाइएको छ।



प्रहरीले घटनास्थलमा आवश्यक प्रक्रिया (मुसुल्का) पूरा गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





