महोत्तरी – गौशाला नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रकाश गुप्ताले गौशाला बजारको सरसफाइ तथा व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायलाई तीन दिनभित्र आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।
वडा अध्यक्ष गुप्ताले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ, “गौशाला बजार ऐतिहासिक तथा व्यापारिक केन्द्र भए पनि हाल यसको अवस्था दयनीय बनेको छ। जथाभावी फोहोर फालिने, नाला तथा ढल अवरुद्ध हुने, सडक अतिक्रमण र अव्यवस्थित पार्किङले बजार अस्तव्यस्त बनेको छ। यसले सर्वसाधारणको स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पारिरहेको छ।




अब सम्बन्धित निकायले तीन दिनभित्र प्रभावकारी कदम चाल्नुपर्नेछ। व्यवसायी र पसलधनीले पनि जिम्मेवारी लिने आवश्यक छ।”गौशाला बजार हुलाकी राजमार्गसँग जोडिएको र पूर्व–पश्चिम राजमार्गको नजिक अवस्थित महोत्तरी जिल्लाको एक महत्वपूर्ण व्यापारिक केन्द्र हो। विगतदेखि यस बजारले कृषि उत्पादन, पशुपालन तथा चौपाया कारोबारमा उल्लेखनीय योगदान गर्दै आएको छ।

वडा अध्यक्ष गुप्ताले भनेका छन्,“विगतमा पटक–पटक सचेत गराइएका गतिविधि व्यवसायीले पालना नगरेको अवस्था फेरि दोहोरिनु हुँदैन। नियमित सरसफाइ,नाला तथा ढलको मर्मत, सडक अतिक्रमण हटाउने र पार्किङ व्यवस्थापनमा तत्काल प्रभावकारी कदम आवश्यक छ।”

वडा कार्यालयले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र कार्यान्वयन नभए सम्बन्धित निकायलाई जानकारी गराइ थप कडा कदम चालिने चेतावनी दिएको छ।यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, महोत्तरी; गौशाला नगरपालिका, गौशाला, महोत्तरी; प्रहरी कार्यालय, गौशाला, महोत्तरी; इलाका प्रशासन कार्यालय, गौशाला, महोत्तरी; र सशस्त्र प्रहरी बेस क्याम्प, रामनगर, महोत्तरीलाई समेत जानकारी गराइएको छ।






