महोत्तरी – महोत्तरीको मटिहानीस्थित श्री राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) मा सरस्वती मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको छ।आज आयोजित एक कार्यक्रमबीच गुरुकुलका अभिभावक तथा अग्रज, मानकी होटल जनकपुर र मटिहानी होटलका संस्थापक सञ्चालक एवं समाजसेवी निरंजन प्रसाद साहले मन्दिर निर्माण कार्यको शिलान्यास गर्नुभएको हो।

वि.सं. १७७५ मा स्थापना भएको उक्त गुरुकुल परिसरमा निर्माण हुन लागेको सरस्वती मन्दिर साहले निजी लगानीमा निर्माण गराउन लाग्नुभएको जनाइएको छ।गुरुकुलका प्रधानाध्यापक ईश्वरी पौडेलका अनुसार मन्दिर आकर्षक संरचनामा निर्माण गरिनेछ भने मन्दिरभित्र महादेव र सरस्वतीको प्रतिमा स्थापना गरिने योजना रहेको छ।




निर्माण कार्य सम्पन्न भएपछि वि.सं. २०८३ देखि सरस्वती पूजा गुरुकुल परिसरमै नव–निर्मित मन्दिरमा गर्ने लक्ष्य राखिएको गुरुकुल प्रशासनले जनाएको छ।गुरुकुलले लामो समयदेखि परिकल्पना गरेको मन्दिर निर्माणमा योगदान पुर्याउने साह महोत्तरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत हुनुहुन्छ। उहाँको सहयोगले गुरुकुलसहित समग्र समुदायलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ।

यस अवसरमा गुरुकुल परिवारले साहप्रति आभार व्यक्त गर्दै उहाँ तथा उहाँको परिवारको सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको कामना गरेको छ।












