महोत्तरी – गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा भोलि शनिबारदेखि बजार व्यवस्थापन, सरसफाइ तथा अतिक्रमित पसल हटाउने अभियान सुरु हुने भएको छ।
वडा कार्यालयले बजार क्षेत्रमा व्यवस्थित सरसफाइ कार्य सम्पन्न गर्न, अव्यवस्थित संरचना हटाउन र अतिक्रमित पसल नियन्त्रणमा ल्याउन तीन दिनभित्र काम सम्पन्न गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र काम नगर्ने व्यवसायी वा पसल सञ्चालकविरुद्ध आवश्यक कारबाही गरिने जनाइएको छ।




यसैक्रममा उमेश किराना पसलका सञ्चालक मनिष साहले आफ्नो पसल अगाडिको छाप्रो हटाउने काम सुरु गरेका छन्। उनले भने, “भोलि शनिबारदेखि बजार व्यवस्थापन र अतिक्रमित पसल हटाउने अभियान सुरु हुने जानकारी पाएपछि मैले तुरुन्तै काम सुरु गरेको छु। बाँकी सरसफाइको काम पनि तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने तयारीमा छु। सुन्दर र व्यवस्थित गौशाला बनाउनु हाम्रो साझा दायित्व हो, यसका लागि हामी सबै व्यवसायीको सहभागिता अनिवार्य छ। बजारलाई व्यवस्थित र आकर्षक बनाउनु हाम्रो दायित्व हो, बाहिरबाट कोही आएर बनाउने होइन, हामी आफैंले बनाउनु पर्छ।”

गौशाला नगर सञ्जालका अध्यक्ष भरत महतो कोईरीले अभियान सफल बनाउन सबै व्यवसायी र स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताए। “बजारलाई सफा, व्यवस्थित र आकर्षक बनाउन सबैको योगदान अनिवार्य छ,” उनले भने।
गौशाला नगरपालिका–५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताले भने, “भोलि शनिबारदेखि बजारमा सरसफाइ र अतिक्रमित संरचना हटाउने काम प्रारम्भ हुनेछ। निर्धारित समयसीमा भित्र काम नगर्नेहरूका विरुद्ध कडाइका साथ कारबाही गरिनेछ।”
नगर प्रमुख डा. दिपेन्द्र महतोले अभियानलाई नगरको समग्र विकाससँग जोडिएको पहलको रूपमा उल्लेख गर्दै सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। “स्वच्छ, व्यवस्थित र आकर्षक बजार निर्माण नगरपालिकाको प्राथमिकता हो। अतिक्रमण हटाउन आवश्यक कदम चालिनेछ,” उनले भने।गौशाला नगरपालिका र वडा कार्यालयको संयुक्त पहलमा सुरु गरिएको उक्त अभियानले बजार क्षेत्रलाई व्यवस्थित, सफा र आकर्षक बनाउने अपेक्षा गरिएको छ।
नियमित अनुगमनमार्फत अभियानको प्रभावकारिता सुनिश्चित गरिने पनि जनाइएको छ।





