महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (SEE) को मर्यादा विपरीत कार्यमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले परीक्षा प्रणालीलाई प्रभावित पार्ने गरी अनलाइन माध्यमबाट प्रश्न–उत्तर आदानप्रदान गर्ने ४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।



प्रहरीका अनुसार बलवा नगरपालिका–६ स्थित बलवा बजारमा सञ्चालनमा रहेको ‘डिजिटल श्याम फोटो स्टुडियो अनलाइन सर्विस’ मार्फत परीक्षार्थीहरूलाई ‘ह्वाट्सएप ग्रुप’मा आबद्ध गराई परीक्षा केन्द्रबाट प्रश्न बाहिर ल्याउने र त्यसको उत्तर मोबाइलमार्फत पठाउने तथा प्रिन्ट गरेर उपलब्ध गराउने कार्य भइरहेको सूचनाका आधारमा कारबाही गरिएको हो ।
घटनामा संलग्न आरोपमा उक्त स्टुडियोका ५५ वर्षीय सञ्चालक र उनका १९ वर्षीय छोरासहित थप दुई जना युवक पक्राउ परेका छन् । उनीहरूले संगठित रूपमा परीक्षा प्रणालीको गोपनीयता भंग गर्ने प्रयास गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट शिक्षा सम्बन्धी ऐन, २०२८ अन्तर्गत ‘परीक्षाको गोपनीयता भंग’ कसुरमा ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक विश्वम्भर नाथ साहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । उनले परीक्षा प्रणालीलाई निष्पक्ष र मर्यादित बनाउन यस्ता गतिविधिमाथि कडा निगरानी र कारबाही जारी रहने चेतावनी दिएका छन् ।





