महोत्तरी- महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला नगरपालिकास्थित गौशाला बजारमा सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्ने अभियान पुनः सञ्चालन गरिने भएको छ।
आइतबार गौशाला नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि शनिबारदेखि बन्द रहेको बजारसमेत पुनः सञ्चालनमा आएको छ।




नगरपालिकाका मेयर डा. दीपेन्द्र महतोका अनुसार विगतका कमजोरीलाई सुधार गर्दै नयाँ ढङ्गबाट अभियान अघि बढाउने विषयमा सर्वसम्मत सहमति भएको छ। उहाँले सोमबारदेखि बजार अतिक्रमणमुक्त अभियान निर्बाध रूपमा सञ्चालन हुने जानकारी दिनुभयो।
अभियानको नेतृत्व वडा नं. ५ का अध्यक्ष ओमप्रकाश गुप्ताले सम्हाल्ने छन्। गौशाला बजार सोही वडामा पर्ने भएकाले उक्त जिम्मेवारी गुप्तालाई दिइएको हो।

बैठकले यसअघि घोषणा गरिएको बजार बन्दको निर्णयसमेत फिर्ता लिएको छ। अभियानलाई सफल बनाउन नगरपालिका, सरोकारवाला निकाय तथा स्थानीय समुदायले समन्वयात्मक भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ।
नगरपालिकाले बजारलाई व्यवस्थित र आकर्षक नबनाएसम्म अभियान निरन्तर जारी रहने जनाएको छ।




