महोत्तरी – गौशाला नगरपालिका वडा नं. ४ ले सडक छेउ तथा पेटीमा अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्री तथा अन्य वस्तु हटाउन सर्वसाधारणसँग आग्रह गरेको छ।
वडाभित्रका विभिन्न स्थानमा गिट्टी, बालुवा, ढुङ्गा, इटा, रडलगायत निर्माण सामग्री थुपार्ने, गाईबस्तुको गोबर, गुइँठा र पराल राख्ने, बाटोमा फोहर फाल्ने तथा सवारी साधन अव्यवस्थित रूपमा पार्किङ गर्ने जस्ता गतिविधिका कारण आवागमनमा अवरोध हुनुका साथै वडाको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाइएको छ।



यस सम्बन्धमा प्राप्त जनगुनासोलाई मध्यनजर गर्दै वडाले त्यस्ता कार्य नगर्न र नगराउन अनुरोध गरेको हो। साथै, सार्वजनिक सूचनालाई आधार मानी तीन दिनभित्र सडक छेउ तथा पेटीमा राखिएका सम्पूर्ण सामग्री हटाउन सम्बन्धित सबै सरोकारवालासँग आग्रह गरिएको छ।
वडा अध्यक्ष रामनारायण महासेठ ले सार्वजनिक स्थल अतिक्रमण गरी सामग्री थुपार्ने कार्यले दैनिक आवागमनमा समस्या हुनुका साथै सरसफाइ र व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो। उहाँले समयमै सामग्री हटाई नगरपालिकालाई सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो।
यसैबीच, गौशाला नगरपालिका–४ निवासी तथा गौशाला नगर युवा सञ्जालका अध्यक्ष भरत महतो कोईरी ले वडा कार्यालयको उक्त कदम सकारात्मक र आवश्यक भएको बताउनुभयो। उहाँले सार्वजनिक स्थलको संरक्षण र सरसफाइमा सबै नागरिकको समान जिम्मेवारी रहने उल्लेख गर्दै सूचनाको पूर्ण पालना गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो।
निर्धारित अवधिभित्र सामग्री नहटाए प्रचलित कानुनबमोजिम जरिवाना गर्नुका साथै सामग्री जफत गरिने वडाले जनाएको छ।





