महोत्तरी – गौशाला नगरभित्रका बजार क्षेत्रको व्यवस्थापन तथा आधारभूत सुविधा सुधारको माग गर्दै गौशाला नगर युवा सञ्जालले नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।नगर युवा सञ्जालका अध्यक्ष भरत महतो कोईरीको नेतृत्वमा गएको युवाहरूको टोलीले नगर प्रमुख डा. दिपेन्द्र महतो समक्ष उक्त ज्ञापनपत्र बुझाएको हो। बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित तथा सौन्दर्ययुक्त बनाउने उद्देश्यसहित आवश्यक पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराइएको जनाइएको छ।

ज्ञापनपत्रमा बजार क्षेत्रमा उपयुक्त स्थान निर्धारण गरी शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, सवारी साधनका लागि सुरक्षित तथा व्यवस्थित पार्किङ स्थल निर्माण गरिनुपर्ने, तथा सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था हुनुपर्ने माग गरिएको छ। त्यस्तै, साना तथा ठूला व्यापारीहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने र समग्र बजार क्षेत्रलाई स्वच्छ, सुरक्षित तथा व्यवस्थित बनाउन तत्काल पहल गर्नुपर्ने उल्लेख गरिएको छ।




यसैबीच, युवा सञ्जालका अध्यक्ष भरत महतो कोईरीले बजार क्षेत्रको वर्तमान अवस्था चिन्ताजनक रहेको भन्दै तत्काल सुधार आवश्यक रहेको बताएका छन्। उनका अनुसार आधारभूत सुविधा अभावका कारण व्यापारी तथा सर्वसाधारण दुवै प्रभावित भइरहेका छन्।उनले भने, “बजार व्यवस्थापन, खानेपानी, पार्किङ तथा सार्वजनिक शौचालयजस्ता विषयहरू जनजीवनसँग प्रत्यक्ष जोडिएका छन्।
तसर्थ, स्थानीय सरकारले यसतर्फ गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ।”यता, नगर प्रमुख डा. दिपेन्द्र महतोले युवाहरूले उठाएका मागलाई सकारात्मक रूपमा लिँदै नगरपालिकाले बजार व्यवस्थापन सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको बताए।उनका अनुसार बजार क्षेत्रको दीर्घकालीन व्यवस्थित विकासका लागि आवश्यक योजना निर्माण भइरहेको छ। उनले भने, “बजार व्यवस्थापन, पार्किङ, खानेपानी तथा सरसफाइका विषयहरू नगरको प्राथमिक एजेन्डा हुन्। क्रमशः समस्या समाधान गर्दै लैजानेतर्फ नगरपालिका अग्रसर छ।”
नगर प्रमुख महतोले स्थानीय सरकार, व्यापारी तथा सरोकारवाला निकायबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै दिगो समाधानका लागि सामूहिक प्रयास आवश्यक हुने धारणा व्यक्त गरे।युवा सञ्जालले बजार सुधार भएमा नगरको व्यापारिक गतिविधि वृद्धि हुनुका साथै समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।
ज्ञापनपत्र





