भारत – भारतीय आधुनिक सङ्गीतकी पर्याय एवं विश्वप्रसिद्ध गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो ।मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि अस्वस्थ रहेकी भोसलेको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई सघन उपचार कक्ष (ICU) मा राखिएको थियो । उनका छोरा आनन्दले आइतबार दिउँसो मृत्युको पुष्टि गरेका हुन् । उनको अन्तिम संस्कार भोलि गरिने बताइएको छ ।
सन् १९३३ मा साङ्गीतिक पृष्ठभूमि भएको मङ्गेशकर परिवारमा जन्मिएकी आशाले मात्र ९ वर्षको उमेरबाट व्यावसायिक गायन सुरु गरेकी थिइन् । सन् १९४३ मा पहिलो पटक चलचित्रका लागि गीत रेकर्ड गराएकी उनले सन् १९५० को दशकसम्म बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी थिइन् ।आफ्नी दिदी स्वर्गीय लता मङ्गेशकरसँगै भारतीय पार्श्व गायनको शिखरमा रहेकी आशाले आफ्नो करियरमा विविधता र प्रयोगलाई प्राथमिकता दिइन् ।



सुरुवातमा ‘क्याबरेट’ र नृत्य प्रधान गीतहरूका लागि चिनिए पनि उनले ‘उमराव जान’ जस्ता चलचित्रमा मन छुने गजल गाएर आफ्नो बहुआयामिक प्रतिभा प्रमाणित गरेकी थिइन् ।सङ्गीत जगतमा पुर्याएको अतुलनीय योगदानका लागि उनले सात पटक ‘फिल्मफेयर बेस्ट फिमेल प्लेब्याक सिंगर अवार्ड’ जितेकी थिइन् । उनले ‘दिल चिज क्या है’ (उमराव जान) र ‘मेरा कुछ सामान’ (इजाजत) का लागि दुई पटक ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत प्राप्त गरेकी थिइन् ।उनको निधनसँगै भारतीय सङ्गीतको एक स्वर्णिम युगको अन्त्य भएको छ । उनले गाएका हजारौँ कालजयी गीतहरूले उनलाई सधैँ अमर राख्नेछन् ।




