भारत – धेरै नेपाली गीतहरु समेत गाएकी प्रसिद्ध भारतीय गायिका आशा भोसलेलाई अचानक ह्दयघात (कार्डियाक अरेस्ट) भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । ब्रीच क्यान्डी अस्पतालका डाक्टर प्रतीत समदानीले यसबारे पुष्टि गरेका छन् । ९२ वर्षीया आशा भोसलेको उपचार इमर्जेन्सी मेडिकल सर्भिसेज (EMS) युनिटमा भइरहेको छ ।
उनकी सानी बहिनी उषा मंगेशकरले पनि बीबीसी न्यूज हिन्दीका सहयोगी रवि जैनसँग आशा भोसले अस्पतालमा भर्ना भएको पुष्टि गरेकी छन् । उषा मंगेशकरले यो खबर पाउँदा उनी पुणेमा थिइन् । खबर पाउनासाथ उनी तुरुन्तै मुम्बईतर्फ लागिन् । एक पारिवारिक स्रोतले बीबीसी न्यूज हिन्दीलाई बताए अनुसार आशा भोसले फोक्सो र उमेरसँग सम्बन्धित अन्य रोगसँग पनि संघर्ष गरिरहेकी छन् ।



८ सेप्टेम्बर १९३३ मा जन्मिएकी आशा भोसलेले १९४३ मा १० वर्षको उमेरमै गाउन सुरु गरेकी थिइन् । उनले ९० वर्षको उमेरसम्म पनि गायन जारी राखिन्। उनले हंसराज बहल, ओपी नैय्यर, मदन मोहन, आरडी बर्मन, इलैयाराजा, अनु मलिकदेखि एआर रहमानसम्मका संगीतकारहरूसँग काम गरेकी छन् । उनले मोहम्मद रफी, मुकेश, किशोर कुमारदेखि बॉय जर्ज र आदित्य नारायणसम्मका गायकहरूसँग पनि गीत गाएकी छन् । सन् १९९५ मा उस्ताद अली अकबर खानसँगको एल्बमका लागि उनलाई ग्रामी अवार्डमा नामांकन गरिएको थियो ।
आशा भोसलेले १०,००० भन्दा बढी गीतहरू रेकर्ड गरेकी छन् । संगीत विश्लेषक राजीव विजयकरले सन् २०२३ मा बीबीसीसँग भनेका थिए, ‘आशा भोसलेको विशेषता भनेको समयसँगै अघि बढ्नु हो । उनले कहिल्यै पुराना चीजहरू मात्र राम्रो हुन्छन् भन्ने मान्यता राखिनन् । उनको आवाज जति भजनमा मिल्छ, त्यति नै क्याबरेमा पनि मिल्छ ।’
उनी भन्छन्, ‘विविधता नै उनको शक्ति हो, जसले उनलाई यहाँसम्म ल्याएको हो । उदाहरणका लागि ‘आगे भी जाने न तू…’ गीत हेर्नुहोस,् यसमा दर्शन पनि छ र यो नाइट क्लब गीत पनि हो । आशाको यस गीतमा एक प्रकारको पीडा छ । नाइट बारमा पनि मिल्ने गरी गीतमा यस्तो भाव ल्याउनु सजिलो हुँदैन, जुन आशा भोसलेले सम्भव बनाइन् ।’ आशा भोसलेले धेरै नेपाली चलचित्रहरुका लागि गीत गाएकी छिन् । उनले मोहनी लाग्ला है, साउने झरीमालगायत धेरै नेपाली गीत गाएर नेपाली स्रोताको मन जितेकी छिन् ।




