धनुषा । नयाँ वर्ष २०८३ का अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ ।
वर्षको पहिलो दिन आज जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा भक्तजनहरू वर्षभर राम्रो होस् भन्ने हेतुले पूजापाठका लागि जम्मा भएका छन् ।




हिन्दुहरुको आस्थाको केन्द्र विश्वप्रसिद्ध जानकी मन्दिरसहित राम मन्दिर, जनक मन्दिर, भूतनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ ।

नयाँ वर्षमा मन्दिरहरूमा पूजापाठ गर्नाले विशेष फल प्राप्त हुने र वर्षभरि राम्रोसँग बित्ने धार्मिक जनविश्वाससहित मन्दिर दर्शन गर्न परिवार सहित आएको क्षीरेश्नरनाथ नगरपालिका ५ महेन्द्रनगर की नमिता उप्रेतीले बताउनुभयो ।

नयाँ वर्षले गर्दा मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा आन्तरिक तथा भारतीय पर्यटकहरूको अत्यधिक भीडको कारण सवारीसाधनको व्यवस्थापन गर्न बिहानदेखि नै ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ ।
वैशाख १ गते वर्षको पहिलो दिन पूजापाठ र दर्शन गर्न तथा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुुइँचो लाग्ने लागेको छ । जानकी मन्दिरमा बिहानदेखि दर्शनार्थी भीडभाड देखिएको छ ।
मन्दिरमा प्रसाद चढाउने भक्तजनको पनि विहान देखि नै लाइन लागेर घुइँचो तथा भीड लागेको छभने जानकी मन्दिर परिसरमै रहेको म्युजियम हेर्न समेत दर्शनार्थीहरुको लामो लाइन लागेको देखिएको छ ।जसकारण मन्दिरमा परिसरमा भक्तजनको भिड उल्लेख्य छ । धार्मिकस्थलका साथै जनकपुरधाम पर्यटकीयनगरी समेत हो । जसकारण पनि नयाँ वर्षका दिन घुमफिरका लागि मानिसहरूको भिड लाग्ने गर्छ ।




