जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाममा भेटिएको मासु प्रकरणलाई लिएर सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक सूचना तथा अनावश्यक टिप्पणीप्रति ध्यानाकर्षण गराउँदै संयमता अपनाउन सर्वसाधारणसँग अपिल गरेको छ ।
गत चैत २९ गते राति करिब ७ बजे जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकस्थित एक घरमा मासु पकाइरहेको अवस्थामा सो मासु गाईको हुन सक्ने आशंकासहित स्थानीयस्तरबाट प्रहरीलाई जानकारी गराइएको थियो ।



त्यसपछि खटिएको प्रहरी टोलीले काँचो तथा पकाएको मासु बरामद गरी परीक्षणका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।
प्रहरीका अनुसार बरामद गरिएको मासु कुन जनावरको हो भन्ने यकिन गर्नका लागि विधिविज्ञान प्रयोगशाला सामाखुशी काठमाडौं पठाइएको छ । परीक्षण प्रतिवेदन प्राप्त भएपछि मात्र वास्तविक तथ्य पुष्टि हुने प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले अनुसन्धानकै क्रममा रहेको विषयलाई लिएर गलत सूचना फैलिनु दुर्भाग्यपूर्ण भएको बताए ।
उनले भने, ‘हालसम्म उक्त मासु कुन जनावरको हो भन्ने यकिन भइसकेको छैन । परीक्षण प्रतिवेदन आउन बाँकी रहेको अवस्थामा केही व्यक्तिहरूले सामाजिक सञ्जालमा आधारहीन रूपमा गाईकै मासु भएको भन्दै भ्रम फैलाउने, समुदाय विशेषप्रति घृणा र द्वेष उत्पन्न हुने किसिमका गतिविधि गरेको पाइएको छ । यसले सामाजिक सद्भावमा असर पार्न सक्छ ।’
उनले थप भने, ‘यदि परीक्षणपछि उक्त मासु कानूनले निषेध गरेको जनावरको भएको पुष्टि भएमा सम्बन्धित व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम कारबाही गरिनेछ । तर, त्यसअघि नै कुनै पनि प्रकारको अनर्गल टिप्पणी वा अफवाह नफैलाउन सबैमा अपिल गर्दछौं ।’
प्रहरीले समाजमा धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै अनुसन्धान निष्पक्ष रूपमा अघि बढिरहेको स्पष्ट पारेको छ ।




