महोत्तरी – वैशाख १ गते, अर्थात् नयाँ वर्षको अवसरमा महोत्तरीको बर्दिवास नगरपालिका–५ माईस्थानस्थित प्रसिद्ध धार्मिक स्थल पञ्चधुरामाई मन्दिरमा भक्तजनहरूको व्यापक भीड देखिएको छ।
मधेश प्रदेशकै एक प्रमुख धार्मिक तथा आस्थाको केन्द्र मानिने उक्त मन्दिर विशेष गरी देवी भगवतीप्रति श्रद्धा राख्ने भक्तजनका लागि महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। पञ्चधुरामाई मन्दिरलाई मधेश क्षेत्रको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ। यहाँ देवी भगवतीको वास रहेको विश्वासका कारण नेपालका विभिन्न जिल्लासहित भारतको बिहार राज्यबाट समेत भक्तजन दर्शनका लागि आउने गर्छन्।




भक्तजनहरूले मन्दिरमा पूजाआजा गरेपछि मनोकामना पूरा हुने, शान्ति प्राप्त हुने तथा जीवनका कठिनाइहरू कम हुने विश्वास राख्ने गरेका छन्।
पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर उत्तरतर्फ वनक्षेत्र हुँदै पुगिने यो मन्दिर माईस्थान जंगलभित्र अवस्थित छ। प्राकृतिक रूपमा शान्त र रमणीय वातावरणले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ। मन्दिर परिसर हरियालीले भरिएको छ भने त्यहाँ कमल पोखरी समेत रहेको छ, जसले धार्मिक तथा पर्यटकीय महत्व बढाएको छ।

नवरात्र, दशैं लगायतका धार्मिक अवसरहरूमा यहाँ ठूलो मेला लाग्ने गर्दछ। स्थानीयवासीले नियमित पूजाआजा गर्ने परम्परा कायम राखेका छन् भने टाढाटाढाबाट पिकनिक मनाउन आउनेहरूको समेत भीड लाग्ने गरेको छ।
नयाँ वर्षको अवसर पारेर महोत्तरीसहित आसपासका जिल्लाबाट सयौँ भक्तजन मन्दिरमा पुगेका थिए। पञ्चधुरामाई मन्दिर सौन्दर्यीकरण समितिका अध्यक्ष दानबहादुर थापाले यस वर्ष अहिलेसम्मकै धेरै भक्तजन आएको जानकारी दिनुभयो। उहाँका अनुसार बिहान झिसमिसेदेखि साँझ ५–६ बजेसम्म मन्दिरमा भक्तजनको भीड लागेको थियो।

माईस्थानस्थित यो प्राचीन शक्तिपीठलाई साक्षात् भगवतीको निवास मानिन्छ। यहाँ भाकल पूरा भएपछि भक्तजनहरूले बोकाको बलि चढाउने, परेवा उडाउने, नरिवल तथा प्रसाद चढाउने प्रचलन रहेको छ। साथै नयाँ सवारी साधन खरिद गरेपछि पूजा गर्न आउने चलन पनि रहेको छ।
आठ बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर मधेशका विभिन्न जिल्लाका साथै सिन्धुली, उदयपुर र भारतको बिहार राज्यका श्रद्धालुको आस्थाको केन्द्रका रूपमा रहेको छ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले नगरक्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले आवश्यक स्रोत व्यवस्थापनका लागि प्रदेश तथा केन्द्र सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो।

नगर क्षेत्रमा पञ्चधुरामाई मन्दिरसहित टुटेश्वरनाथ मन्दिर, राइमण्डलधाम, मध्यपाषाण युगकालीन हतियार कारखाना, गिद्धबास, सोली घोप्टेडाँडा, बेसारेडाँडा र चनौटेडाँडा लगायतका धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरू रहेको बताउँदै उहाँले ती क्षेत्रको विकासका लागि सबै सरोकारवालाबाट सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।












