बर्दिवास । नयाँ वर्ष २०८३ को अवसर पारेर लायन्स क्लब इन्टरनेशनल 325F अन्तर्गत लायन्स क्लब अफ बर्दिबास समाजले अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि ह्वीलचेयर वितरण गरेको छ।
बर्दिबास नगरपालिका–११, खयरमारामा आयोजित कार्यक्रममा शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई लक्षित गरी ह्वीलचेयर हस्तान्तरण गरिएको हो। सामाजिक सेवामा सक्रिय लायन्स क्लबले नयाँ वर्षको सुरुआतसँगै मानवीय सेवा विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।




कार्यक्रममा लायन्स क्लब अफ बर्दिबास समाजका अध्यक्ष बैकुण्ठ प्रसाद देवकोटाले अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवन सहज बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वीलचेयर वितरण गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा जोन चेयरपर्सन उमेश महतो, क्लबकी सचिव सुनिता बराल, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा लायन विष्णु खडका, वडा अध्यक्ष गोपाल बल लगायतको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो।

स्थानीयवासीले लायन्स क्लबको पहललाई सराहनीय भन्दै यस्ता सहयोगले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
लायन्स क्लबले विगतदेखि नै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।




