काठमाडौं – सरकारले डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँ बढाएको छ। नेपाल आयल निगमले बुधबार जारी गरेको सूचनामा डिजेल र मट्टितेलको मूल्य बढेको जानकारी दिएको हो। योसँगै काठमाडौं, पोखरा, दिपायलमा डिजेलको मूल्य बुधबार मध्यरातिबाट प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ।
मूल्य समायोजनपश्चात समेत डिजेलमा प्रति लिटर ९९.१६ रुपैंयाले अझै घाटा हुने निगमको भनाई छ। निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको छ।



पेट्रोलको मूल्ययथावत् राखिएको निगमको भनाई छ। मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको विज्ञप्तिमा उल्लेख छ।
पेट्रोलियम पदार्थको लागत मूल्य बढी र बिक्री मूल्य कम भएको कारणले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रति लिटर रु. २.३२, डिजेलमा प्रति लिटर रु. ८७.९९, मट्टितेलमा रु. ३६.७० र एल.पी. ग्यासमा प्रति सिलिण्डर रु. ३३१.२५ घाटा कायम नै रही १५ दिनमा करिब ७ अर्ब ८१ करोड ६१ लाख घाटा भएको विज्ञप्तिमा उल्लेख छ।
मूल्यवृद्धि निरन्तर भएपछि सरकारले केही दिन अगाडि सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको थियो।





