महोत्तरी – बलवा नगरपालिका– स्वास्थ्य शाखाको आयोजना तथा लायन्स क्लब अफ जनकपुरधाम र RUIT फाउण्डेशनको सहयोग तथा सहकार्यमा ‘निःशुल्क आँखा जाँच शिविर’ सम्पन्न भएको छ।

बलवा नगरपालिका–स्थित यश स्वास्थ्य चौकी, बनौटामा सञ्चालन गरिएको उक्त शिविरमा १२६ जनाको आँखा परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ। परीक्षणका क्रममा ३० जनामा मोतिबिन्दुको समस्या देखिएको र उनीहरूलाई शल्यक्रिया आवश्यक पर्ने निष्कर्ष निकालिएको छ।




मोतिबिन्दु पहिचान भएका ती बिरामीहरूलाई भोलि पालिकाको समन्वय र सहयोगमा जानकी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको जनाइएको छ।

बलवा नगरपालिकाका नगर प्रमुख राम विजय महतोले यस्ता शिविरले विपन्न तथा ग्रामीण भेगका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने र आवश्यक परे थप सहयोग विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय तहको पहल तथा विभिन्न संघसंस्थाको सहकार्यमा सञ्चालन गरिएको यस शिविरले सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न महत्वपूर्ण सहयोग पुगेको नगरपालिकाले जनाएको छ।






