महोत्तरी – जलेश्वर नगरपालिका–२ स्थित जिरोमाइलमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि जनकपुर पठाइएको छ।
प्रादेशिक अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चिकित्सकले जनकपुर रिफर गरेका हुन्।



जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०२–००५ प २७५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प २९९६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा जलेश्वर–२ बस्ने ३० वर्षीय दिपक साह र जलेश्वर–७ बेलाका ४० वर्षीय सन्जित झा घाइते भएका छन्। दुवै जनाको टाउको, नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय जलेश्वरको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








