
काठमाडौं- गाउँ-गाउँ पुगेका क्रिश्चियन मिसिनरीहरूले प्रभु यशुको क्रुसले सबै सैतान भाग्ने अन्धविश्वास फैलाएर गरिब परिवारलाई क्रिश्चियन बनाउँछन्।
पहिला कुलदेवता भनेर पुजिने ‘अदृश्य शक्ति’लाई सैतान भन्न लगाउँछन्। रोग निको पार्ने भन्दै उपचार गर्न अस्पताल जाँदै गरेकालाई चर्चमा बोलाउँछन्। अनि उपचारको बहानामा अरूको ज्यानमाथी खेल्छन्।
नेपालका धेरै क्रिश्नचियन मिसनरीहरूले आफ्नो धर्म फैलाउन अहिले त्यही ‘हर्कत’ अपनाइरहेका छन्। अहिले युगमा पनि उनीहरू प्रभुले रोग निको पार्नुहुन्छ भन्न पछि परेका छैनन्।
हिन्दु धर्मका कट्टर पक्षपाती मुलुकमा यस्ता भ्रम छरेर इशाइकरण बढेकोमा चिन्ता गरिरहेका छन्। फेरि उस्तै किसिमको विकृतिलाई अझै फैलाइँदैछ हिन्दू धर्ममा समेत।
हिन्दू धर्मलाई पनि उसैगरी बदनाम बनाउने प्रयास भइरहेको आरोप लागेको छ, केही कथित बाबाबाट। ती हुन् क्रिश्चियन पास्टरकै शैलीमा अन्धविश्वासको व्यापार गर्नेहरू ।
भिडिओ-
०००
आफूलाई बागेश्वर सरकार भन्ने भारतीय युवा धीरेन्द्रकृष्ण गर्ग अहिले नेपालमा छन्। धार्मिक विद्वेष र सामाजिक सद्भाव भड्काउने, ढोँगी र पाखण्डी आरोप लागेका उनलाई अग्रणी व्यापारिक घराना चौधरी समूहले नेपाल ल्याएको हो।
भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक उनै धीरेन्द्रकृष्णले पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा कथा वाचन गरे।
कथा वाचन गर्नु नराम्रो होइन। तर धीरेन्द्रकृष्णले कथा वाचन मात्र गरेनन्, अन्धविश्वासको घनघोर व्यापार पनि गरे। व्यापक प्रवर्द्धन गरे। हिन्दू धर्मको खोल ओढेर उनले हिन्दू धर्मकै बदनाम गरे।
उनले आफूसँग चमत्कार शक्ति भएको दाबी गर्दै बिरामीका रोग र समस्याहरूको समाधान गर्ने, आफ्नो आशीर्वादले निको हुनेसम्मको अफवाह फैलाउनसम्म फैलाए।

धीरेन्द्रकृष्णले आफूलाई यती शक्तिशाली दर्साउन खोजे कि सहजै क्यान्सर रोग समेत निःशुल्क एकैछिनमा उपचार गरिदिए जस्तो। उनी मञ्चमा थिए।
अगाडी हजारौँ भक्तजन थिए। कुनै एक व्यक्तिको वचनले क्यान्सरजस्ता रोग ठिक हुने भए बर्सौँ पढेर मानिसहरू किन डाक्टर बन्नुपथ्र्याे होला ? धीरेन्द्रकृष्णको कथित उपचार शैली हेरेका भक्तजनहरू नै भन्छन्, ‘‘डाक्टर हुनुभन्दा कयौं वर्षअघि धार्मिक बाबा थिए। बाबाले निको पारेका भए चिकित्सा विज्ञान किन जन्मिन्थ्यो होला?’’
उनले अगाडि बोलाइएको समस्या र भूत भविष्य पहिल्यै आफूले पर्चामा लेखेको दाबी गर्थे। सम्बन्धित भक्तजनलाई देखाएजस्तो गर्थे तर, पुरा देखाउँथेनन्। किनकि त्यहाँ धीरेन्द्रकृष्णले दाबी गरेजस्तो लेखिएको हुन्थेन।
यही देखेपछि कतिपय प्रश्न गर्छन्, झारफुक र तन्त्रमन्त्रले निको हुने भए जीवनभर एउटै विषयमा घोत्लिएर अध्येता किन बन्नुपथ्र्याे।

उनको धार्मिक सभामा उपचार हेर्नेहरूले सामाजिक सञ्जालमै कमेन्ट गरेका देखिन्छन्, ‘‘यसरी निको हुने भए उपचारमा चाहिने उपकरण र अस्पतालहरू किन बनाउनुपर्यो? भए भरमा सबै अस्पताल बन्द गराएर घरघरमा बाबालाई डुलाए भएन र ?’’
अन्धविश्वास कतिसम्म गहिरो छ भने तीनै बाबा भनिएका धीरेन्द्रकृष्णको सभामा केही बिरामीहरू पुगे। आजको युगमा पनि यस्तो अन्धविश्वास कायम रहनु जनस्वास्थ्य र सामाजिक चेतना दुवै क्षेत्रका लागि एउटा चर्को चुनौती हो ।
केही भने बाबाले पहिल्यै सेटिङमा आफ्ना मानिसहरू लगेका थिए। कारण, धिरेन्द्रकृष्ण र भक्तजन भनिएकाहरूको ‘स्कृप्टेड संवाद’ले अरू भक्तजनलाई प्रभाव पार्नु।
धीरेन्द्रकृष्णले नचिनेको भक्तजन भन्दै अगाडी बोलाउने र भक्तजन भनिएकाले सबै भूत र भविष्यवाणी तथा समस्या सबै पहिचान गर्न सफल भएको बताउने शैलीले धेरैलाई वास्तविक लाग्यो।
धर्मप्रति आस्था बढाउनको लागि धर्मको नाममा भएका विकृति विसङ्गति हटाउनुपर्छ। तर, अन्धविश्वासको प्रवर्द्धन गर्दा कसरी हिन्दु धर्मप्रति आस्था बढ्ला र ?
यी गतिविधि नियालेका केही मानवशास्त्रीहरू भन्छन्, ‘‘‘साकाराका सान्दारावा’ भन्दै जस्तोसुकै रोग पनि निको पार्छु भन्ने पास्टरहरूको बिगबिगी भएपछि क्रिस्चियन धर्म बदनाम छ।
अनि हिन्दू धर्मका पुजारीले चाहिँ क्यान्सर र जन्मजात अपाङ्गता भएका मानिस पनि ठिक पार्छु भन्दा धर्मको संरक्षण होला त? यो त अन्धविश्वासको व्यापार गरेर मान्छेलाई ठग्ने बाहेक केही कुरा होइन। त्यस्ता ठग मान्छेबाट हिन्दू धर्म झन् दूषित हुन्छ।’’
अर्को पक्ष भनेको धीरेन्द्रकृष्ण धार्मिक सभामा दलितलाई अछुत भन्छन्, छुन दिँदैनन्। हिन्दु धर्मका केही पक्षहरू समय सापेक्ष परिवर्तन हुन नसक्दा कतिपय अन्धविश्वास र वर्णव्यवस्था कायमै छ।
यो असमानताले धेरै हिन्दु धर्मालम्बीहरूलाई यो धर्मप्रति वितृष्णा जगाएको छ। तिनै वितृष्णामा परेकालाई आफूतर्फ तान्न क्रिश्चियन मिसिनरीहरुले धर्म परिवर्तन गराइरहेका छन्।
आज धेरै दलित बस्तीहरु चर्चले भरिएका छन्। आज पनि अन्धविश्वासमा रूमलाइदिएर धर्मका नाउँमा भेदभाव र छुवाछुतलाई सार्वजनिक मञ्चमै प्रवर्द्धन गर्ने धीरेन्द्रकृष्णबाट हिन्दु झनै खतरामा रहेको कतिपयको तर्क छ।
नेपालमा र भारतमा हिन्दु धर्मको राम्रो पक्षको अभ्यास गर्ने, त्यसको प्रवर्द्धन गर्ने धेरै साधक बाबाहरू, तपस्वीहरू छन्। धार्मिक सहिष्णुता बढाउने धेरै गुरूहरू छन्। पुजारीहरू छन्। त्यस्ता गुरु, बाबाहरूले धर्म संस्कृति रक्षाको काम गरिरहेका छन्।
तर, गेरू वस्त्र धारण गरेर प्रवचन दिँदैमा, सबै ‘गुरू’ र ‘बाबा’ हुन्छन् त ? भीड जुटाएर धर्मका नाममा व्यापार गर्ने र भड्काइपूर्ण कुरा गर्ने मान्छे धर्मात्मा हुन सक्लान् ?
यस कारण कतिपयले भनेका छन् ‘‘आज हिन्दू धर्म खतरामा छ भने त्यो बाट छ, जो आमा मानिसहरूको धार्मिक आस्थाको फाइदा उठाउँदै आफ्नो ‘चमत्कार’ चर्चा र प्रचार गर्दै व्यापार गरिरहेका छन्।’’-नेपालभ्युजबाट