जनकपुरधाम - महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोलाई कारबाही गर्न मेयर डा. दिपेन्द्र महतोले प्रहरी गुहारेका छन् । कार्यालयको दर्ता चलानी रजिष्टर चोरेर लगेको, क्रसर व्यवसायीसँग मिलेमतो गरेकोल भन्दै महतोले प्रहरीलाई पत्राचार गरेका हुन् ।
दर्ता चलानीमा महलहरू खाली राखेर अनियमितता गर्ने गरेको भन्दै उपमेयर महतोले मंगलबार रजिष्टर नियन्त्रणमा लिएकी थिइन् । उनले दर्ता चलानी खाली राखेको रजिष्टरको फोटोसमेत सार्वजनिक गरेकी छन् ।
तर, मेयर महतोले दर्ता चलानी रजिष्टर चोरेर लगेको भन्दै उपमेयरमाथि कारबाही हुनुपर्ने निर्णय कार्यपालिकाबाट गराएका छन् । मेयर महतोले बुधबार बिहान कार्यपालिका बैठक डाकेको थिए, तर, बैठकमा उपमेयरलाई गेटबाट छिर्न दिएनन् ।
मेयरले गुण्डागर्दी शैलीमा गेटबाटै छिर्न नदिएको भन्दै उनले भिडिओमार्फत् असन्तुष्टि पोखेकी थिइन् । मेयर-उपमेयर दुवै जसपाबाट निर्वाचित हुन् । हेर्नुस् भिडिओ-
मेयर महतोले गैरकानूनी तरिकाले दर्ता चलानी रजिष्टर लगेको भन्दै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको प्रेस विज्ञप्ती जारी गरेका हुन् । उनले विज्ञप्तिमा क्रसर माफियासँग मिलेर उपमेयरले अराजक गतिविधि गर्न लागेको आरोप समेत लगाएका छन् ।
उनले भनेका छन्, ‘नगरपालिका कार्यपालिकाको निर्णयबाट गौशाला नगरपालिका ८ का प्रमोद महतोको श्रीमतीको नाउँमा रहेको श्री शिवम गिट्टी तथा वालुवा वासिङ्ग सेन्टर, गौशाला न.पा.–८ ले भन्टाबारी नजिकको खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी तथा बालुवा २ लाख २५ हजार घन. मि. उत्खन्न गरेकोमा जम्मा रकम रु ४ करोड ५० लाख मु.अ.करसहित सो फर्मबाट राजश्व असुल उपर गर्ने साथै उक्त फर्मको स्थानीय व्यवसाय दर्ता प्रमाण पत्र रद्द गर्ने निर्णय समेत भएकोमा नगर उपप्रमुखले नगरपालिकाको राजश्च क्षति हुने गरी क्रसर व्यवसायी प्रमोद महतोसँगको मिलोमतोमा अराजक गतिविधि गर्न खोजेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’
उपमेयरले विगतदेखि नै जनताको कामकाजमा अवरुद्ध गर्ने, कर्मचारीहरुलाई डराउने, धम्काउने तथा पिट्ने, विकास निर्माणमा बाधा पुप्याउने, नगरपालिकाको बजेट फ्रिज गर्ने तथा अगामी आ.व.को बजेट निर्माणलाई अवरुद्ध गर्ने नियतले नगरपालिकाको मूल गेट अगाडि कर्मचारीको गाडी रोक्ने, ढुङ्गामुढा तथा झगडा गर्ने गतिविधि गरिरहेको आरोप मेयरको छ ।
कार्यालय परिसरमा कुनै पनि अराजक गतिविधि, तोडफोड, झडप तथा सार्वजनिक सम्पत्तिको क्षति भएमा सम्पूर्ण जिम्मेवार उपमेयर हुने चेतावनी समेत मेयर महतोले दिएका छन् ।





