जनकपुरधाम । मिथिला नाट्यकला परिषद् (मिनाप) ले हरेक वर्षझैं यसवर्ष पनि जनकपुरधाममा दुई दिवसीय होरी महोत्सव तथा ‘महामूर्ख सम्मेलन’ आयोजना गर्ने भएको छ ।
परिषद्ले फागुन १६ गते होरी महोत्सव र फागुन १७ गते महामूर्ख सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ ।



परिषद्का अध्यक्ष सुनिल मलिल्कले होरी महोत्सवमा सहभागी हुन इच्छुक होरैया टिमहरूलाई आ–आफ्नो टिमको नामावलीसहित मिनापसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
उनका अनुसार मिथिलाञ्चलको मौलिक सांस्कृतिक परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमलाई यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ ।
अध्यक्ष मलिल्कका अनुसार यसपटकको ‘महामूर्ख’ उपाधि प्रदान गर्न योग्य व्यक्तिको खोजी तीव्र गतिमा अघि बढाइएको छ ।
हाँस्य–व्यंग्यमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुँदै आएको सम्मेलनमा विभिन्न सांस्कृतिक प्रस्तुति, व्यंग्यात्मक वक्तव्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने जनाइएको छ ।
जनकपुरधाममा वर्षेनी आयोजना हुने यो महोत्सवले स्थानीय कला, संस्कार र सामुदायिक एकतालाई थप सुदृढ बनाउँदै आएको आयोजकको दाबी छ ।




