महोत्तरी – बलवा नगरपालिकामा महिलाको स्वास्थ्यलाई लक्षित गर्दै सञ्चालन गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा उल्लेखनीय सहभागिता देखिएको छ। बलवा नगरपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान, भक्तपुर (गठ्ठाघर) को प्राविधिक सहयोगमा स्वास्थ्य चौकी बनौटामा सम्पन्न उक्त शिविरमा कुल ५६४ जना महिलाले सेवा लिएका छन्।
शिविरमा महिलाहरूको प्रजनन स्वास्थ्य, स्त्रीरोग सम्बन्धी समस्या, विभिन्न किसिमका रुग्णता तथा आवश्यक परेमा शल्यक्रिया (अपरेशन) का लागि छनौट गर्ने कार्य गरिएको थियो। ग्रामीण भेगका महिलालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमबाट आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाबाट टाढा रहेका महिलाहरू विशेष रूपमा लाभान्वित भएका आयोजकले जनाएको छ।




शिविरमा सहभागी महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक परीक्षणहरू गरिएको थियो। चिकित्सकहरूको टोलीले स्त्रीरोग, पाठेघर सम्बन्धी समस्या, संक्रमण लगायत अन्य दीर्घकालीन स्वास्थ्य समस्याको पहिचान गरी उपचार प्रक्रिया अघि बढाएको जनाएको छ। गम्भीर प्रकृतिका बिरामीहरूलाई थप उपचारका लागि छनौट समेत गरिएको छ।
कार्यक्रमको उद्घाटन तथा समापन अवसरमा बोल्दै बलवा नगरपालिकाका मेयर राम विजय महतोले महिला स्वास्थ्यलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले समाजको समग्र विकासका लागि महिलाको स्वास्थ्य सुदृढ हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न यस्ता शिविर नियमित सञ्चालन गरिने बताए।
मेयर महतोले स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै आगामी दिनमा अझ व्यवस्थित तथा प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामुदायिक सेवा प्रतिष्ठान, भक्तपुरप्रति आभार व्यक्त गर्दै यस्ता सहकार्यले स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा सहयोग पुगेको बताए।

शिविरमा सहभागी स्थानीय महिलाहरूले घर नजिकै विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाउँदा सहज र लाभदायक भएको प्रतिक्रिया दिएका छन्। धेरै महिलाले पहिलो पटक विस्तृत स्वास्थ्य परीक्षण गराउने अवसर पाएको बताएका छन्।
सामुदायिक सेवा प्रतिष्ठानका प्राविधिक टोलीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। आगामी दिनमा यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने योजना रहेको उनीहरूको भनाइ छ।

यस प्रकारका स्वास्थ्य शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै महिलालाई समयमै उपचारमा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।










