सुजाता राई
विराटनगर । गुरु पूर्णिमाको पावन अवसरमा विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालयको खेल मैदानमा सञ्हचालन हुँदै आएको बालाजी डोजोमा विविध कार्यक्रम गरी गुरु पूर्णिमा मनाइएको छ।




कराते प्रशिक्षक मेनुका ठाकुरप्रति श्रद्धा, कृतज्ञता र सम्मान व्यक्त गर्दै विद्यार्थीहरूले विभिन्न उपहार गुरुलाई प्रदान गर्दै टीका ग्रहण गरेका थिए। साथै चरण स्पर्श गरी आशीर्वाद लिँदै केक काटेर गुरु पूर्णिमा मनाएका थिए।
कार्यक्रममा गुरु र शिष्यबीचको विश्वास, सम्मान र संस्कारमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउने सन्देश दिइएको थियो। खेलाडीहरूसँगै अभिभावकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

विगत सात वर्षदेखि कराते प्रशिक्षणमा निरन्तर सक्रिय प्रशिक्षक ठाकुरले खेलमार्फत अनुशासन, आत्मरक्षा र आत्मविश्वासको शिक्षा प्रदान गर्दै आएकी छन्। एक महिलाका रूपमा निरन्तर संघर्ष, समर्पण र मेहनतका साथ खेल क्षेत्रमा आफूलाई स्थापित गर्दै उनले धेरै विद्यार्थीका लागि प्रेरणाको उदाहरण बनेकी छन्।





