जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनताको चाहना र इच्छाको परिपूर्ति नै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने भएकाले यसतर्फ प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।
७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम आज आयोजित झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अहिलेको सङ्घीयताका कारण जनतालाई अधिकारप्रति थप सजग बनाउने काम गरेको बताए । उनले अब जनताको इच्छा तथा आकांक्षा पुरा गर्नु सबै तहका सरकारको समान दायित्व भएको बताए।
मुख्यमन्त्री राउतले प्रदेश तथा देशबासीको चाहना पुरा गर्नका लागि थप क्रियाशील भएर सबै तहका सरकारले काम गर्न आवश्यक भएको बताए ।
मुख्यमन्त्री राउतले चार दलको गठबन्धनको सरकार भए पनि चार वर्षको अवधिमा प्रदेश सरकारले अरु प्रदेशको तुलनामा धेरै काम गरेको दाबी गर्दै यस अवधिमा प्रदेशको नाम र स्थायी राजधानी तय हुनु ठूलो उपलब्धि रहेको बताए।
मुख्यमन्त्री राउतले अहिले पनि शासकीय प्रवृत्तिमा पुरानै सोच भएका कारणले प्रदेश सरकारले गर्न चाहेका कतिपय प्रदेशवासीको चाहना अनुसारको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्दै अगामी दिनमा थप सक्रियताको साथ काम गर्ने बताए ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले झन्डोत्तोलन गरेका थिए ।