महोत्तरी – औरही नगरपालिकाले संघीय सरकारद्वारा लागू गरिएको दुई दिन सार्वजनिक बिदा सम्बन्धी निर्णयलाई स्थानीय आवश्यकता र शैक्षिक हितलाई मध्यनजर गर्दै परिमार्जन गरी नगर क्षेत्रभित्रका विद्यालयहरू सातामा ६ दिन सञ्चालन गर्ने निर्णय गरेको छ। बुधबार बसेको नगर कार्यपालिकाको बैठकले शिक्षण–अध्ययन प्रक्रियामा निरन्तरता आवश्यक रहेको निष्कर्ष निकाल्दै आइतबारसमेत पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।

उक्त निर्णयसँगै नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू अब शनिबारबाहेक साताका अन्य दिनहरूमा नियमित रूपमा सञ्चालन हुनेछन्। नगर प्रमुख प्रदीप कुमार खड्काले शिक्षा क्षेत्रलाई कुनै पनि परिस्थितिमा अवरुद्ध हुन नदिने नगरपालिकाको स्पष्ट नीति रहेको उल्लेख गर्दै विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्धित पठनपाठन नियमित र निरन्तर हुनुपर्नेमा जोड दिएका छन्।




उनले दुई दिनसम्म विद्यालय बन्द रहँदा विद्यार्थीहरूको सिकाइ प्रक्रियामा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक गुणस्तर कायम राख्न तथा अध्ययन–अध्यापनमा निरन्तरता दिन आइतबारसमेत कक्षा सञ्चालन गर्ने निर्णय गरिएको स्पष्ट पारे। उनका अनुसार संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा सरकारी कार्यालय पाँच दिन मात्र सञ्चालन गर्ने निर्णय गरे पनि स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेर शैक्षिक तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाएको हो।

नगर प्रमुख खड्काले विद्यालयमा नियमित पठनपाठन सुनिश्चित गर्नु नगरपालिकाको दायित्व भएको उल्लेख गर्दै यस्तो निर्णयले समग्र शैक्षिक सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। यस निर्णयसँगै औरही नगरपालिकाभित्रका सबै विद्यालयहरूमा पठनपाठन कार्य निरन्तर रूपमा सञ्चालन हुने र शैक्षिक गतिविधि थप व्यवस्थित तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ।





