जीवनराज (बर्दिबास) – नेपालका विभिन्न क्षेत्रमा आएको विपद्का कारण धेरै परिवारले जनधनको क्षति व्यहोर्दै दुःख, पीडा र कठिन परिस्थितिको सामना गरिरहेका बेला भोटेकोसी बाढीपीडितको सहयोगका लागि बर्दिबासकी सामाजिक अभियन्ता तथा योग गुरु सुमित्रा भट्टराईले रु. ५१ हजार सहयोग गरेकी छिन् ।
भट्टराईले Super Selection, बर्दिबास–१, बिग मार्केटको तर्फबाट उक्त रकम सहयोग गरेकी हुन् । बाढीका कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला उनले मानवीय भावनासहित सहयोगको हात अघि बढाएकी हुन् ।



भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो क्षति पुगेपछि प्रभावित परिवारहरू अहिले पनि विभिन्न समस्या र अभावसँग जुधिरहेका छन् । यस्तो संवेदनशील अवस्थामा व्यक्तिगत तथा संस्थागत रूपमा गरिने सानो–ठूलो सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै उनीहरूलाई कठिन परिस्थितिसँग सामना गर्ने हौसला प्रदान गर्ने विश्वास गरिएको छ ।
सुमित्रा भट्टराईले विपद्को समयमा सहयोग गर्नु आफ्नो सामाजिक दायित्वसमेत भएको बताउँदै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएकी छिन् । उनले सहयोग रकम ठूलो वा सानोभन्दा पनि दुःखमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीप्रति देखाइने साथ, सहानुभूति र मानवीय भावना नै महत्वपूर्ण हुने बताएकी छिन् ।
विपद्मा परेका सबै परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै भट्टराईले प्रभावित परिवारको जीवनमा फेरि आशा र मुस्कान फर्कियोस् भन्ने कामना गरेकी छिन् । साथै, विपद्को यस कठिन घडीमा सबैले आफ्नो क्षमताअनुसार सहयोग र सहकार्य गर्दै पीडितको साथमा उभिनुपर्ने सन्देशसमेत दिएकी छिन् ।




