
जनकपुरधाम विमानस्थलको छाना खस्दा एक युवक गम्भीर घाइते भएका छन् ।
विमानस्थलमा फल सिलिङ्गको लागि प्रयोग हुने सिमेन्ट बोर्ड खस्दा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर–५ बस्ने ३९ वर्षीय उसलेन खान गम्भीर घाइते भएका हुन् । शुक्रबार जनकपुरधाम विमानस्थलको छानामुनी बसिरहेका उसलेनको शरीरमाथि अचानक सिमेन्ट बोर्ड खस्दा उनी गम्भीर घाइते भएका छन् । उनी गाडी चालक रहेको र विमानस्थलमा यात्रीको प्रतिक्षामा बसेका थिए । जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा उपचार भईरहेको उसलेनको टाउकोमा १५ वटा टाँका लगाइएको छ ।
जनकपुरधाम विमानस्थलको कार्य सम्पन्न भएको ६ महिना नबित्दै छाना माथिबाट प्लाई र फलामका ठूला ठूला छडहरू झर्न थालेका छन् । ४२ करोड रुपैयाँको लागतमा नयाँ प्रविधिमार्फत निर्माण गरिएको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त बन्न थालेको छ । ४ हजार १३४ वर्गमिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ । यो बिलकुलै नयाँ प्रविधि हो ।
जुन नेपालका अन्य विमानस्थलहरूमा प्रयोग गरिएको छैन । तर, निर्माण सम्पन्न भएको केही दिनमै कन्ट्रोल टावर क्षतिग्रस्त हुँदा यसको गुणस्तरीयता माथि प्रश्न उठेको छ ।