
काठमाण्डौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाकाे निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
यसअघि २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका प्रचण्डले यसपटक भने गोर्खा रोजेका हुन्।
बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सम्पन्न भएका निर्वाचनमा संसदीय क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्डले यसपटक चितवनबाट नै दोहोरिने बताउँदै आएपनि अन्तिम अवस्थामा आएर गोरखा रोजेका हुन्।
प्रचण्ड शान्ति सम्झौतापछिको पहिलो निर्वाचनमा रोल्पा र काठमाडौंबाट लडेका थिए। २०७० सालमा भने उनले मधेसको सिरहा जिल्ला रोजेका थिए। २०७४ सालको निर्वाचनमा भने उनी गृहजिल्ला चितवनबाट चुनाव लडेका थिए।
प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार, नेपाल र नेपाली जनताको समृद्धिका लागि गतिशील राजनीतिक जीवन बिताउँदै आएका प्रचण्डले नेपालको एकीकरण र माओवादी जनयुद्धमा उल्लेख्य भूमिका खेलेको गोर्खा जिल्ला रोजेका हुन्।
सचिवालयले भनेको छ, 'नेपाली जनताको आन्तरिक एकतामा समृद्धिको सपना साँचेका प्रचण्डले यसपटक नेपालको एकीकरण र नेपालको रुपान्तरणमा ऐतिहासिक भूमिका खेलेको क्रान्तिको भूमिका रुपमा समेत परिचिति गोर्खा जिल्लाबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ।'
प्रचण्डको उम्मेदवारीलाई इतिहासको कदर र गतिशील कदम भन्दै सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ, 'उहाँको उम्मेदवारी एकातिर इतिहासको योगदानको कदर हो भने अर्कोतर्फ राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै नेपाली समाजलाई फेरी समृद्धिको क्रान्तितर्फ लैजाने गतिशील कदम हो।'