जनकपुरधाम । प्रहरीले महेन्द्र राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका –१, नवलपुरबाट लागुऔषध गाँजासहित दुई महिला र एक अटो चालकलाई पक्राउ गरेको छ ।
लागुऔषध प्रभावित क्षेत्रको रुपमा परिचित हरिवन नगरपालिकाको डाबरीबाट मधेश प्रदेश ०३००१ ह २४४५ नम्वरको अटोमा लागुऔषध गाँजा लिएर लालबन्दीतर्फ आउँदै गर्दा तीन जना पक्राउ परेका हुन् ।



प्रहरीले अटोचालक हरिवन नगरपालिका घुर्कौली बस्ने ३० वर्षीय सुशील साह, अटोमा सवार महिलाहरु २५ वर्षीया जगतारण साह र २५ वर्षकै राधिका साहलाई पक्राउ गरेको हो ।
उनीहरुले अटोमा हालेर ल्याउँदै गरिएको पाँच वटा पोकामा रहेको २२ किलो ८२० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
गाँजासहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताउनुभयो ।




