महोत्तरी— पिपरा गाउँपालिकाका गर्भवती महिला तथा किशोरी आमाहरूलाई लक्षित गर्दै सुरक्षित र गुणस्तरीय मातृत्व सेवा प्रवाह सुदृढ गर्न ग्रामीण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ।सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको साझेदारी तथा पिपरा गाउँपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रमअन्तर्गत उक्त पोर्टेवल अल्ट्रासाउण्ड मेसिन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। मेसिन गाउँपालिका अध्यक्ष रामजानकी यादवलाई हस्तान्तरण गरिएको हो।

मेसिन बुझ्दै अध्यक्ष यादवले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण भेगका गर्भवती महिला तथा किशोरी आमाहरूलाई यसले ठूलो राहत दिने बताउनुभयो। उहाँले अब गर्भवती महिलाहरूलाई बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने उल्लेख गर्नुभयो।अध्यक्ष यादवले विगतदेखि नै पालिकामा अल्ट्रासाउण्ड मेसिनको अभाव रहेको बताउँदै यस उपकरणले सबै वडाका गर्भवती महिलालाई नियमित जाँचमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले न्यूनतम शुल्कमा पूर्ण सेवा उपलब्ध गराउने पालिकाको प्रतिवद्धता अनुसार सेवा विस्तार गरिने जानकारी दिनुभयो।




उहाँका अनुसार गाउँपालिकाका सातवटै वडामा पुगेर नियमित रूपमा गर्भवती महिलाको जाँच गर्ने व्यवस्था मिलाइनेछ।पिपरा जनता अस्पतालका प्रमुख डा. सन्तोष यादवले ग्रामीण अल्ट्रासाउण्ड मेसिनको प्रयोगले सरकारले तोकेको चार तथा आठ पटकको गर्भजाँच कार्यान्वयनमा सहजता आउने बताउनुभयो। उहाँले हरेक वडामा तोकिएको दिनमा सेवा सञ्चालन गरिने जानकारी दिनुभयो।

डा. यादवले समयमै गर्भावस्थाको पहिचान, आवश्यक रेफरल सेवा विस्तार, संस्थागत सुत्केरी दर वृद्धि तथा घरमै हुने सुत्केरी न्यूनीकरणमा यसले सहयोग पुर्याउने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारी प्रोटोकल अनुसार गर्भजाँचमा अब कुनै समस्या हुँदैन, जोखिम पहिचानमा पनि यसले सहयोग पुर्याउँछ।”

रतौली युवा क्लबका निर्देशक वैद्यनाथ चौधरीले मेसिन हस्तान्तरणले पालिकाका सबै सुत्केरी आमाहरूलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य संस्थासम्म मात्र सीमित सेवा अब गाउँ–गाउँमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

क्लबका कार्यक्रम अधिकृत पुजनारायण साहले पोर्टेवल अल्ट्रासाउण्ड मेसिनको उपयोगबारे जानकारी दिँदै ग्रामीण क्षेत्रमा समेत सहज रूपमा गर्भवतीको जाँच गर्न सकिने बताउनुभयो। उहाँका अनुसार करिब रु आठ लाख सत्तरी हजार लागतमा मेसिन खरिद गरिएको हो।






