जनकपुरधाम । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेकाले पत्रकारिता क्षेत्रलाई थप सक्षम, व्यावसायिक, प्रविधिमैत्री र प्रभावकारी बनाउन मधेश प्रदेश सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयको आयोजना तथा मिडिया काउन्सिल मधेश प्रदेशको समन्वयमा मधेश प्रदेशको आठवटै जिल्लाको नेपाल पत्रकार महासंघ जिल्ला समितिहरुका लागि सञ्चार तथा सूचना प्रवाह सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।



उहाँले राज्यका गतिविधि, जनताका आवश्यकता, समस्या, अपेक्षा तथा उपलब्धिहरुलाई नागरिकसम्म पुगाउने र नागरिकका आवाजलाई राज्यका निकाय सम्म पु¥याउने कार्यमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपुर्ण रहँदै आएको बताउनुभयो । उहाँले हस्तान्तरण गरिएका सामग्रीले जिल्ला तहमा पत्रकारिता तथा सूचना प्रवाहसम्बन्धी कार्यलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री महतोले सामग्री उपलब्ध गराउनु मात्र पर्याप्त नहुने भन्दै यसको पारदर्शी, मितव्ययी र प्रभावकारी उपयोग गर्दै पत्रकारिता क्षेत्रको क्षमता विकास, सूचना प्रवाहको गुणस्तर र व्यावसायिक आचरणमा समेत सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले मधेश प्रदेशको पत्रकारिता क्षेत्रले सामाजिक सदभाव, सुशासन, विकास, लोकतन्त्र र नागरिक अधिकारका विषयमा अझ जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा भ्रम, गलत सूचना तथा असत्य समाचार फैलिन नदिन तथ्यमा आधारित र सन्तुलित पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो ।
मन्त्री महतोले मधेश प्रदेश सरकार सञ्चार क्षेत्रको स्वतन्त्रता ब्यावसायिकता र संस्थागत विकासप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रसँगको सम्बन्धित समस्या, आवश्यकता र सुझावलाई सम्बोधन गर्न प्रदेश सरकार, मिडिया काउन्सिल र पत्रकार महासंघबिचको समन्वयर सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्री महतोले मधेश प्रदेशको आठवटै जिल्लाका नेपाल पत्रकार महासंघ अध्यक्षलाई एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान प्रोजेक्टर हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयका सचिव डा. विन्देश्वरप्रसाद लेखक, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो सहितका व्यक्तिको सहभागिता थियो ।




