जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल निर्माण प्रक्रिया औपचारिक रूपमा आजदेखि सुरु भएको छ ।
करिब २ अर्बको लागतमा निर्माण हुने सो पाँच तारे होटलमा १२४ कोठा क्षमताको आधुनिक होटल निर्माणका लागि आज भूमि पूजन सम्पन्न गरिएको हो । मिथिला हस्पिटालिटी प्रालिद्वारा जनकपुरधाम उपमहानगरपालिका वडा नंं १४ मुजेलियामा निर्माण हुन लागेको सो होटलको सञ्चालन तीन वर्षमा गर्ने लक्ष्य लिइएको छ ।




मिथिला हस्पिटालिटीका अध्यक्ष रामेश्वर साहले होटल निर्माणको काम अब तीव्र गतिमा अघि बढाइने जानकारी दिँदै जनकपुरधामको पर्यटन पूर्वाधार विस्तारमा यस परियोजनाले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
भूमि पूजन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले परियोजनाको निर्माणले मधेश प्रदेशको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यसले रोजगारी सृजना हुने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं धनुषा निर्वाचन क्षेत्र नंं ३ का प्रतिनिधि सभा सदस्य मनिष झाले जनकपुरधाममा पहिलो पटक पाँचतारे होटल बन्नु सकारात्मक भएको बताउँदै लगानीको वातावरण सुरक्षित गर्ने दायित्व सबैको भएको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले उपमहानगरपालिकाले पूर्वाधार विकास, सडक सञ्जाल विस्तार तथा लगानीमैत्री वातावरण निर्माणमा प्राथमिकता दिएको बताउनुभयो ।

एनआरएनका संस्थापक अध्यक्ष एवं उद्योगपति उपेन्द्र महतोले जनकपुरधामको सांस्कृतिक र धार्मिक महत्वको विषयमा विश्वसामु अझै उजागर हुन जरुरी रहेको बताउँदै होटलको निर्माणले गुणस्तरीय पर्यटनको विकासमा मद्दत पुग्ने बताउनुभयो ।








